आइतबार, जेष्ठ ६ २०८१

नुवाकोटमा ८० हजार बिरुवा रोपिदैं, सबैभन्दा बढी ४५ हजार टिम्मुर रोपिने


  • ककनी खबर
  • सोमबार, जेष्ठ ३१ २०७८

विदुर – यस वर्ष पनि नुवाकोट जिल्लाको बाँझो जग्गामा ८० हजार बिरुवाहरु रोपिदैं छ । मनसुन भित्रिएसँगै वन डिभिजन कार्यालय नुवाकोटले नि:शुल्क विरुवा वितरण गरिने कार्य सुरु गरेको छ । बिरुवाहरु डिभिजन वन कार्यालय नुवाकोटसहित यस कार्यालय मातहतमा रहेका सब डिभिजनहरु ककनी, शिवपुरी, खरानीटार, देउराली, रातमाटे र विदुरबाट उत्पादन भएको बिरुवाहरु निःशुल्क वितरण हुनेछ ।

डिभिजन वन कार्यालय नुवाकोटका रेन्जर तथा सूचना अधिकारी रमेश दुलालले जिल्लाका सामुदायिक र निजी खाली जग्गामा वृक्षारोपण गर्नको लागि विरुवा वितरणको कार्य सुरु गरिसकेको बताए । वनजन्य विरुवाहरुमा डालेघाँस, फलफुल र जडीबुटीका विरुवाहरु वितरण गरिरहेको उनले बताए ।

“नर्सरीमा उत्पादन भएका चाँप, सिसौ, खयर, इपिल लिपिल, लप्सी, अमला, किम्बु, कल्की फुल, तेजपात, टाँकी, कोइरालो लगायतका विरुवाहरु वितरण गरिरहेका छौं”, उनले भने “कार्यालयले खरिद गरेर ओखर, कागती, आँप, लिची, एभकाडों, अनार, कटहर लगायतका विरुवा पनि वितरण गर्दैछौं।”

“वन डिभिजन कार्यालयले यस वर्ष सबैभन्दा बढी लगभग ४५ हजार टिम्मुर वृक्षारोपण गर्ने लक्ष्य राखेको छ । यसको लागि शिलबन्दी दरभाउ खरिद आव्हान पनि गरिसकेका छौं”, उनले भने “प्रक्रियाअनुसार सप्लायर्स पनि छनौट भइसकेको छ । करिबकरिब असार १० गते भित्र सप्लायर्सले टिम्मुरको विरुवा उपलब्ध गराउने छ र त्यसपछि विरुवा वितरणको लागि प्रक्रिया अघि बढाईनेछ।”

“निजी वन र व्यवसायिक फर्महरुको माग धेरै छ । हामीसँग बजेटको सिमितताले गर्दा उपभोक्ताको माग अनुसार हामीले बिरुवा दिन सकिरहेका छैनौ ।”

बिरुवा रोपणको लागि खाडल खन्नको लागि तीन किसिमको औजार पनि डिभिजन र सब डिभिजनमार्फत उपभोक्तालाई प्रक्रियागत उपलब्ध गराईने छ ।

बिरुवा माग फारम भरेका इच्छुक प्रति व्यक्ति ५० ओटा बिरुवा उपलब्ध गराईने उनले बताए । यस्तै, सामुदायिक उपभोक्ता वन समिति, कार्यालय, संघ/संस्थाहरुको आवश्यक प्रमाण कागजातका आधारमा वितरण गरिने उनले बताए ।

बिरुवा र फलफुल वितरण प्रक्रियामा आवश्यक परे स्थलगत अध्ययन निरीक्षण समेत गरि विरुवा वितरण प्रक्रिया अगाडी बढाईने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार