वैशाख ३१, काठमाडौं
सत्तारुढ दल माओवादी केन्द्रकै सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थितिप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी सांसद पम्फा भुसालले कुनै पनि विदेशी पाहुनालाई सुरक्षा दिन नेपाल सक्षम रहेको बताउदै मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको भन्दै उनले भनिन्, ‘अहिले ठूलो संख्यामा भारतीय सुरक्षा कमाण्डो ल्याउने र पहिलो घेरामा उनीहरु हुनुले हाम्रो देशको सुरक्षामा प्रश्न खडा गर्न खोजेको हो कि ? नेपाली सेनाको क्षमता र भूमिका न्यूनीकरण गरेको हो कि ?’
पहिलो घेरामा भारतीय सुरक्षाकर्मी रहँदा मन्त्रीहरु नै जान नसक्ने अवस्था आएको उनले बताइन् । कुनै पनि देशको पाहुना बोलाउँदा सुरक्षा दिन नेपाल सक्षम रहेको भन्दै उनले भनिन्, पाहुनालाई सुरक्षा दिन सक्दैन भने किन बोलाउने ?
माओवादी प्रवक्तासमेत रहेकी भुसालले सीमा समस्या, विराटनगर फिल्ड अफिस हटाउने जस्ता मुद्दा सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
उनले भ्रमणको तिथिमिति घोषणालगायतमा परराष्ट्र मन्त्रालय पछि परेको भन्दै असन्तुष्टि जनाइन्|