जेठ ३ काठमाडौं
एकताको निकट पुगेका एमाले र माओवादीबीच केपी ओली र प्रचण्ड दुबै पार्टी अध्यक्ष बन्ने सहमति बनेको छ । नेताहरुका अनुसार महाधिवेशनसम्म केपी ओली र प्रचण्ड दुबै जना एकीकृत पार्टीको अध्यक्ष हुनेछन् ।
सहमतिअनुसार एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय बनाइने भएको छ । जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० जनाको प्रतिनिधित्व हुनेछ ।
एमाले स्रोतका अनुसार स्थायी कमिटी ४३ सदस्सीय बनाउने समझदारी भएकोमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् ।
दुई पार्टीले हीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी थालेका छन् । दुई पार्टीबीच सूर्य चिन्ह नै चुनाव चिन्ह राख्ने सहमति भएको छ । सूर्य एमालेको हालको चुनाव चिन्ह हो ।
यसैबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी भएको स्थायी समिति बैठकलाई जानकारी गराएका छन् ।
साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकमा ओलीले भोलि पार्टी एकता गर्ने सहमति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको जानकारी गराएका हुन् ।
ओलीले भोलि बिहान १० बजे बस्ने एकता संयोजन समितिको बैठकले थप निर्णय गर्ने पनि जानकारी गराएका थिए । ओलीले जानकारी गराएसँगै बैठकले सहमतिको स्वागत गरेको छ ।
बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टीबीच भोलि बेलुकासम्म एकता हुने बताए ।
बिहान ओली र प्रचण्डबीच भएको वार्तापछि एकता गर्ने सहमति भएको थियो ।