जेठ ३ काठमाडौ
पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत विभिन्न आठ विधा अन्तर्गत क्रिकेटका चार जना सम्मानित भएका छन् ।
उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर सन्दिप लामिछाने, उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, स्पेसल अवार्डबाट क्रिकेटर करण केसी, उत्कृष्ट पुरुष खेलाडीबाट क्रिकेट कप्तान पारस खड्का सम्मानित भए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले उत्कृष्ट पुरुष खेलाडी बिधामा उपाधिका लागि क्रिकेटका नै सन्दिप लामिछाने, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्कीलाई पछि पारेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्बेमा भएको विश्वकप छनोटमा एकदिवसिय मान्यता पाउँदा नेपाली टोलीको नेत्तृत्व पारसले गरेका थिए । विश्वकप छनोटमा नेपाललाई एकदिवसिय मान्यता प्राप्त गर्न पारसले अफगानिस्तान र स्कटल्यान बिरुद्ध अर्धशतक प्रहार गर्दै प्रतियोगिता अवधिभर कुल २३१ रन प्रहार गरेका थिए ।
त्यस्तै नामिबियामा आयोजना भएको विश्व क्रिकेट लिग डिभिजन टु मा पारसले एक शतक र दुई अर्धशतक सहित कुल २४१ रन बनाएका थिए । पारस डिभिजन टु मा सर्वाधिक रन बनाउने पनि खेलाडी हुन् ।
कप्तान पारसले आफ्नो नेतृत्वमा घरेलु क्रिकेटमा टिम चौराहा धनगढीलाई धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो संस्करण र विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करणको च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका थिए ।
त्यस्तै अन्य बिधाहरुमा ‘पारा एथलिट अफ दि इयर’ बाट हृविलचेयर बास्केटबल तथा हृविलचेयर क्रिकेट टिमका कप्तान हिमाल अर्याल सम्मानित भए ।उत्कृष्ट महिला खेलाडी ब्याडमिन्टनकी शोभा गौचन भइन् । शोभासँगै उत्कृष्ट महिला खेलाडीमा बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलबाट सावित्रा भण्डारी र टेबलटेनिसबाट नविता श्रेष्ठ मनोनयनमा थिए ।
पिपुल्स च्वाइस अवार्डमा क्रिकेटका सन्दिप लामिछाने, फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसका स्यान्टु श्रेष्ठले बाजी मारे ।
कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे । त्यस्तै दोस्रो स्थानमा मानबहादुरले २१.६५ प्रतिशत, तेस्रोमा सन्दीपको १५.०१, चौथोमा फुटबलका किरणको १३.३२ र पाँचौ स्थानमा गल्फकी प्रतिमा शेर्पाले ८.४५ प्रतिशत मत प्राप्त गरे ।
पिपुल्स च्वाइस अवार्डमा यसपटक एसएमएस, फेसबुक लाइक, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्यको मतका आधारमा विजेता छनोट भएको हो ।