शनिबार, भाद्र ७ २०८२

रुस्लान थ्रीस्टार नुवाकोट गोल्डकपको सेमिफाइनलमा


  • ककनी खबर
  • सोमबार, जेष्ठ २१ २०७५

अरुणराज पाठक,जेठ २१ बिदुर
जिल्ला खेलकुद बिकाश समिती र जिल्ला फुटबल संघ नुवाकोटको संयुक्त आयोजनामा जेठ १७ देखि नुवाकोटमा संचालित ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप-२०७५’ अन्तर्गत आज भएको रुस्लान थ्रीस्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमीबीचको खेलमा रुस्लान थ्रीस्टार ३-२ गोलअन्तरले बिजयी भएको छ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा थ्रीस्टारले जित हात पार्दै सेमिफाइनलको बाटो तय गर्यो। थ्रीस्टारको जितमा अनन्त तामाङले २ गोल गरेका थिए।

खेलको १२औं मिनेटमा अनन्तले सुनिल पालको फ्रीकिकमा हेडमार्फत सुन्दर गोल गर्दै रुस्लान थ्रीस्टारलाई अग्रता दिलाएका थिए।खेलको २७औं मिनेटमा थ्रीस्टारका गोलरक्षक अलाङ न्यौपानेले दिएको पासमा मार्टिन्सले गोल गरेपछि थ्रीस्टारले पहिलो हाफअघि २–० को अग्रता लिएको थियो ।खेलको दोस्रो हाफमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले केही सुधारिएको खेल खेल्यो।खेलको ७७औं मिनेटमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका सौजन राईले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए। तर त्यसको ५ मिनेटपछि अनन्तले ब्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारको अग्रता ३–१ मा लम्ब्याए ।

खेलको इन्ज्युरी समयमा मदन भण्डारी स्पोर्टस एकेडेमीले पेनाल्टी प्राप्त गर्यो र म्याक्सवेलले गोल गर्दै ३-२ को स्थितिमा लगेपनि जितका लागि पर्याप्त हुन सकेन र खेल थ्रीस्टारले ३-२ ले जित्न पुग्यो। अब सेमिफाइनलमा थ्रीस्टारले नुवाकोट ११ को सामना गर्नेछ।

खेलमा २ गोल गरेका थ्रीस्टारका अनन्त तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भोलीको खेल नेपाल पुलिस क्लब र रुपन्देही-११ वीच हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार