जेठ २६, बिदुर ककनी खबर
जिल्ला खेलकुद बिकाश समिती र जिल्ला फुटबल संघ नुवाकोटको संयुक्त आयोजनामा जेठ १७ देखि नुवाकोटमा संचालित ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप-२०७५’ उपाधी नेपाल पुलिस क्लबले जितेको छ।निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले चिरपरिचित प्रतिद्वन्दी थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो।
पछिल्लो खेलहरुको तुलनामा फाईनलमा सुधारिएको खेल खेलेको पुलिसले खेलको ३२ औं मिनेटमा पेनाल्टी पायो।थ्रीस्टारका खेलाडीले पुलिसका सुमन लामालाई डि एरियामा लडाएपछि प्राप्त पेनाल्टिलाई सुमन लामाले प्रहार गरे तर त्यसलाई थ्रीस्टारका गोलरक्षक एलेन न्यौपानेले सुन्दर बचाउ गर्दै पुलिसलाई अग्रता दिनबाट जोगाए। पहिलो हाफमा एकपछि अर्को आक्रामण गर्दै दबाब सिर्जना गरेको पुलिसले दोस्रो हाफको सुरुमै अग्रता लियो।खेलको ५२ औं मिनेटमा पुलिसका लागि जर्सी नम्बर १२ का रबि पासवानले गोल गरे र खेलमा अरु गोल नहुदा सोही गोलले पुलिस १-० ले बिजयी बन्न पुग्यो।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा थ्रीस्टारले सुधारिएको खेल प्रस्तुत गर्यो।दोस्रो हाफले थ्रीस्टारले गोलका अवसरहरु सृजना गरेता पनि गोलमा भने परिणत गर्न सकेन।खेलको ५७ औं मिनेटमा थ्रीस्टारका रन्जन बिष्टको प्रहारलाई पुलिस गोलरक्षक रोशन खड्काले जोगाए।त्यस्तै खेलको ६१ औं मिनेटमा थ्रीस्टारका कप्तान निराजन खड्काले पुलिस गोलरक्षक रोशन खड्का विरुद्ध वान भर्सेज वान गोल गर्न चुके।
त्यस्तै पुलिसले पनि निकै गोलका अवसरहरु सृजना गरेपनी गोलमा भने परिणत गर्न सकेन।थ्रीस्टारका गोलरक्षक एलेन न्यौपानेले पुलिसका निकै आक्रामणहरु जोगाए।पहिलो हाफको तुलनामा दोस्रो हाफ तनावग्रस्त पनि रह्यो र दुबै टिमले लगातार पहेँलो कार्ड प्राप्त गर्दै गए।खेलको ६२ औं मिनेटमा पुलिसका रेजिन सुब्बाले पहेँलो कार्ड पाए भने ६३ औ मिनेटमा पुलिसका अभिषेक रिजाल र थ्रीस्टारका सुनिल पाल दुवैले पहेँलो कार्ड पाए।म्यान अफ दि फाईनल थ्रीस्टारका गोलरक्षक एलेन न्यौपाने घोषित भए।
दमक गोल्डकप संगै सिजनको दोस्रो उपाधी जितेको पुलिसले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद ५ लाख हात पार्यो भने थ्रीस्टारले ट्रफी मेडल र प्रमाणपत्र सहित ३ लाख हात पार्यो।प्रतियोगिताको सर्वाधिक गोलकर्ता थ्रीस्टारका अजय मार्टिन,उदयिमान खेलाडी नुवाकोट ११ का उचित लामा,उत्कृष्ट कोच नेपाल पुलिसका अनन्त थापा र उत्कृष्ट खेलाडी नेपाल पुलिसका रबि पासवान घोषित भए।
जेठ १७ गतेदेखि संचालित प्रतियोगिताको समापन युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारको प्रमुख आतिथ्यतामा भएको थियो।समापन कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सन्जु पन्डित,बेलकोटगढि नगरपालिकाका प्रमुख राजेन्द्र रमण खनाल,जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष बुद्धि प्रधान,नेपाल फुटबल संघका केन्द्रीय सदस्य पुर्णमान चित्रकार,श्रीनाथ गणका गणपती अन्जन रुपाखेती,प्रमुख जिल्ला अधिकारी उद्दव थापा,जिल्ला प्रहरी प्रमुख बसन्त कुवर,साकुरा नेपाल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अनुज कुमार श्रेष्ठ,तारकेश्वर गाउँपालिकाका उपप्रमुख तारा रिमाल,विशाल सिमेन्टका प्रतिनिधि अमृत भट्टराई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।
तस्वीर:रामहरी न्यौपाने