कार्तिक १२ नुवाकोट क्रिकेट संघको आयोजनामा संचालित जिल्लाब्यापी खुल्ला T-20 क्रिकेट प्रतियोगिताको उपाधी देविघाट बाल क्लब देविघाटले जितेको छ । आज सम्पन्न फाईनलमा देविघाटले न क्षत्र स्पोर्ट्स क्लब पिपलटारलाई २७ रनले हराउदै उपाधी माथी कब्जा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको देविघाट बाल क्लबले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १३४ रन बनायो । देविघाटको तर्फबाट बिकाश चित्रकारले नटआउट १८ रन,दिनेश चित्रकारले नटआउट १५ रन,राजेश रिमालले १५ रन र भेषराज रिमालले १३ रन बनाए।बलिङतर्फ नक्षत्रका प्रशिद्द खड्का र राजन अधिकारीले २/२ विकेट र अभियान बस्नेत र शौरभ कुवरले १/१ विकेट लिए ।
१३५ रनको बिजयी लक्ष्यसहित मैदानमा उत्रिएको नक्षत्र १९ ओभरमा अलआउट हुँदै १०७ रन बनाउदा २७ रनले पराजय भोग्न बाध्य भयो ।नक्षत्रको तर्फबाट अभियान बस्नेतले ३२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ देविघाटका बिकाश चित्रकारले ३ विकेट र बिकाश लामिछानेले २ विकेट लिए । खेलमा देविघाटका बिकाश चित्रकार म्यान अफ दि म्याछ घोषित भए । प्रतियोगिताको बेष्ट बलर युनिक ब्वाइज ढुङ्गे का जीवन सिलवाल ,बेष्ट ब्याट्सम्यान नक्षत्रका सुशान्त तिमिल्सिना र म्यान अफ दि सिरिज देविघाटका बिकाश चित्रकार घोषित भए। ४ टिमको सहभागिता रहेको प्रतियोगिता लिगको आधारमा खेलाईएको थियो र तालिकाको शिर्ष २ टिमलाई फाईनल खेलाईएको थियो । बिजेताले ट्रफी प्रमाणपत्र सहित नगद रु.१० हजार र उपबिजेताले ट्रफी प्रमाणपत्र सहित नगद ४ हजार हात पारे ।
प्रतियोगिताको समापन बिदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिदुर नगरपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष राजु सडौला, श्रीनाथ गणका सह सेनानी बिद्दुत कुमार बस्नेत लगायत संघका पदाधिकारी,पत्रकार आदिको उपस्थित थियो ।