पौष ३ ,काठमाडौं। राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको ९३ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि कलेजोको क्यान्सर , मुटु रोग र हाडजोर्नीको रोगबाट पिडित गिरीको मंगलबार बिहान बुढानिलकण्ठ स्थित निवासमा निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनी केही दिन अघि मात्र ‘डिस्चार्ज’ भएर घर गएका थिए।
पञ्चायत अघि नेपाली कांग्रेसको सरकारमा मन्त्री रहेका गिरी कांग्रेसको महामन्त्री समेत बनेका थिए । बि.स. २०१७ पौष १ गते जननिर्वाचित प्रधानमन्त्री बिपि कोईरालालाई राजा महेन्द्रले ‘कु’ गर्दै पन्चायती शासन थालेपछी उनले राजालाई साथ दिएका थिए । जसअनुरुप उनी बि.स. २०१९ देखि बि.स. २०२१ सम्म मन्त्रीपरिषदको अध्यक्ष बनेका थिए ।
नेपाली राजनीतिमा लामो ईतिहास बोकेका गिरी बि.स.२०३२ देखि बि.स. २०३४ सम्म नेपालका प्रधानमन्त्री बने । २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सत्ता हात लिएपछी गिरी मन्त्रीपरिषदको उपाध्यक्ष बनेका थिए । राजतन्त्रको अन्त्य पछि गिरी सक्रिय राजनीतिबाट टाढा थिए । उनको मंगलबारनै अन्त्येष्टि गरिने परिवार श्रोतले बताएको छ ।