आइतबार, जेष्ठ ६ २०८१

नेपाली क्रिकेटका पुर्व कप्तान एल बि क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तक सार्वजनिक


  • ककनी खबर
  • शनिबार, पुष २१ २०७५

पौष २१, नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एल बि क्षेत्रीले ‘कप्तान १९९८’ नामक पुस्तक सार्वजनिक गरेका छन् । हिजो राष्ट्रिय प्रज्ञा प्रतिस्ठानमा एक कार्यक्रम मार्फत उनले आफ्नो पुस्तक सार्वजनिक गरेका हुन् ।

नेपाल क्रिकेट संघका पुर्व अध्यक्ष बिनयराज पान्डे , नेपाली क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्य , पुर्व कप्तानहरु पवन अग्रवाल , बिनोद दास र नेपाली महिला टिमकी पुर्व कप्तान निरा राजोपाध्यायले एकसाथ पुस्तकलाई सार्वजनिक गरेका हुन् । नेपाली खेलकुदमा पहिलोपटक ओलम्पियन सुरेन्द्र हमालको आत्माकथा प्रकाशन गरेको क्रियटिभ बुक्सले नै उक्त पुस्तकको पनि प्रकाशन गरेको हो ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार महासंघका अध्यक्ष महेश आचार्य ,अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ ,साहित्यकार नयनराज पाण्डे ,नेपाल क्रिकेट संघका पुर्व अध्यक्ष बिनयराज पाण्डे ,नेपाली क्रिकेट टिमका पुर्व कप्तानहरु पवन अग्रवाल र बिनोद दासले पुस्तकको बारेमा शुभकामना राख्नुभएको थियो ।

नेपालमा महिला क्रिकेटको सुरु गर्ने अभियान्ताको रुपमा चिनिने एल बि क्षेत्रीले कार्यक्रममा बोल्दै आफुले पुस्तकमा नेपाली क्रिकेटमा हालसम्म देखेका र भोगेका कुराहरुलाई ईमान्दार पुर्वक समाबेश गरेको बताए । पुस्तकमा नेपाली क्रिकेटको इतिहास र समकालीन क्रिकेट खेलाडीको सङ्घर्षको कथा समेटिएको छ । पुस्तकले नेपाली क्रिकेट बुझ्न चाहने आम क्रिकेटप्रेमी, खेलाडी र दर्शकलाई नजिकबाट सिक्न, जान्न र बुझ्न सघाउनेछ । नेपाली क्रिकेटमा देखिएको चरम विवाद, राजनीतिक हस्तक्षेप, आइसिसीको निलम्बन र अब समाधानको उपायका सम्बन्धमा पनि पुस्तकमा पढ्न पाइनेछ ।

क्रियटिभ बुक्सले नै बजार ब्यबस्थापन गर्ने २१५ पृष्ठको उक्त पुस्तकको मूल्य रु. ४२५ तोकिएको छ तर कार्यक्रममा बिशेष छुट सहित उक्त पुस्तकलाई रु. ३०० मा नै बिक्रीको लागि राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार