पौष २८, थाईल्याण्डमा जारी महिला टि -२० स्मास क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको चीन विरुद्धको खेलमा नेपाल १० विकेटले बिजयी भएको छ ।
एसियन इन्स्टिच्यूट अफ टेक्नोलजी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै ४८ रन बनाएको थियो । चीनको लागि झांग चानले १३ रन , वाङ लुवान्याउले ८ रन , ली होयोले ७ रन र हन लीली ३ रन बनाएकी थिइन् ।
बलिङतर्फ नेपालकी करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट , नेरी थापाले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट र सीता रानामगरले १ विकेट लिएकी थिईन् ।
सामान्य ४९ रनको लक्ष्य पछ्याएको नेपालले ८.४ ओभरमा विना विकेटको क्षतिमा बिजयी लक्ष्य पार गर्यो । नेपालको जितमा काजल श्रेष्ठले २९ बलमा १४ रन र सिता राना मगरले २५ बलमा २४ रन बनाएकी थिईन् ।
नेपालले दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ ।