
नुवाकोट । विदुर नगरपालिकाको नगर प्रमुख राजन श्रेष्ठले नेपाल शिक्षक महासंघको आह्वानमा जारी रहेको शिक्षक आन्दोलन प्रति सकारात्मक समर्थन जनाउदै शिक्षकहरुको जायज माग पूरा गर्न नेपाल सरकार समक्ष अनुरोध गर्नुभएको छ ।
नगरप्रमुख श्रेष्ठले बुधबार विज्ञप्ती जारी गर्दै विगतमा भएको सहमतीको कार्यान्वयन गर्न र अहिले उठाएको जायज मागको सम्बोधन गर्न सरकारले ढिलो गर्न नहुने उहाँले उल्लेख गर्नुभएको छ ।
गएको चैत २० गतेदेखि जारी रहेको शिक्षकहरुको आन्दोलनको कारण चालु शैक्षिक सत्रको नतिजा प्रकाशन, आगामी शैक्षिक सत्रको लागी भर्ना अभियान, आसन्न सुरु हुन लागेको नयाँ शैक्षिक सत्रको विद्यालयको पठनपाठन, पाठ्यपुस्तक वितरण, परीक्षा सञ्चालन, शिक्षक तालिम लगायत शैक्षिक गतिविधिहरू प्रभावित भएको भन्दै ढिलो नगरी शिक्षकको माग पूरा गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले शिक्षा क्षेत्रको स्थायित्व र गुणस्तरका लागि शिक्षकहरूलाई प्रेरित गर्ने वातावरण बनाउन सक्नु नै हितकर हुने भन्दै जतिसक्दो चाडो कार्यक्षेत्रमा फर्कने वातावरण तयार गर्न संघीय सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

शिक्षकहरुको आन्दोलन प्रति सकारात्मक समर्थन जनाउदै उहाँले जारी गर्नुभएको विज्ञप्तीले नगरपालिका भित्र कार्यरत शिक्षकहरुले स्थानीय सरकार प्रमुखबाट जनाएको ऐक्यबद्धताले आफूहरु उत्साहित भएको प्रतिक्रिया जनाएका छन् ।