
नुवाकोट । विदुर नगरपालिका वडा नं ३ देवीघाटमा रहेको रणभुवनेश्वरी माध्यमिक विद्यालयले शिक्षक आन्दोलन जारी रहेपनि विद्यार्थी भर्ना अभियानलाई निरन्तर अघि बढाएको छ ।
विद्यालयका प्रधानध्यापक बिक्रम शर्माको अनुसार शिक्षक आन्दोलनको क्रममा ऐक्यबतद्धता कायम रहेपनि विद्यालयले विद्यार्थी भर्ना गर्ने, भर्ना अभियानको लागी बालबालिका खोज्ने सहितको आन्तरिक प्रशासनिक कामलाई जारी राखेको छ ।
शैक्षिक गतिविधिहरु प्रभावित बनाउने घोषित कार्यक्रम भएपनि उक्त विद्यालयले पठनपाठन बाहेकको बाकी आन्तरिक काम निरन्तर जारी राखेको जनाएको छ ।
“शिक्षक महासंघको केन्द्रीय घोषित कार्यक्रम अनुसार अहिले कक्षा सञ्चालन नभएपनि नयाँ विद्यार्थीहरुको खोजी गरेर भर्ना गर्ने र हुने क्रम जारी रहेको छ ।” प्रअ शर्माले भन्नुभयो “शिक्षकहरुले आन्दोलनमा हाजिर गर्नेक्रम पनि कायमै छ । विद्यालयमा उपस्थित भएर नयाँ शैक्षिक सत्र सञ्चालनको तयारीको लागी गनुपर्ने प्रशासनिक काम पनि भइरहेको छ ।”
कक्षा १२ सम्म सामान्य र प्राविधिक धारको अध्ययन गराउदै आएको रणभुवनेश्वरी माविको पछिल्ला समयमा शैक्षिक गुणस्तर खस्कदै गइरहेको छ र विगतमा उत्कृष्ट अंक ल्याएर देवीघाट आसपासको क्षेत्रको प्रमुख शिक्षालयको रुपमा रहेको यस विद्यालयले क्रमशः आफ्नो शैक्षिक गुणस्तर पूर्ववत अवस्थामा फर्काउन विभिन्न कोशिस जारी राख्दै आइरहेको छ ।
शैक्षिक गुणस्तर बृद्धिको लागी पहिलो शर्त रहेको विद्यार्थी सङ्ख्या बृद्धिको लागी रणभुवनेश्वरीले शिक्षक आन्दोलन चलिरहदा पनि भर्ना अभियानलाई तिव्रता दिएको छ ।