
नुवाकोट । विदुर नगरपालिका वडा नं. ५ पिपलटार स्थित प्रदेशस्तरीय पिपलटार रङ्गशालामा यहि जेठ २९ गतेदेखी ‘प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
विदुर नगरपालिकाको आयोजना र नुवाकोट क्रिकेट संघको प्राविधिक सहयोगमा क्रिकेट प्रतियोगिता हुन लागेको सोमबार भएको पत्रकार सम्मेलनमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार प्रतियोगिताको लागि सोमबारसम्म ८ टोलिले नाम दर्ता गराएको र इच्छुक टोलिले मङ्गबार अपरान्ह ४ बजे सम्म नाम दर्ता गराउन सकिने छ ।
पत्रकार सम्मेलनमा खेलकुदलाई प्राथमिकतामा राखेर विदुर नगरपालिकाले फुटबल, ब्याडमिन्टन लगाएतको प्रतियोगिताहरु सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि क्रिकेट, भलिबल लगायतका खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने नगरपालिकाका प्रमुख राजन श्रेष्ठको भनाई छ ।
प्रतियोगिता संचालनको अनुमानित लागत ९ लाख ९९ हजार ९ सय पचास रहेको छ भने विजेता पुरस्कार ५० हजार र उपविजेता पुरस्कार २५ हजार रहेको नुवाकोट क्रिकेट संघका उपाध्यक्ष विष्णु प्याकुरेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, विदुर नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष दिपक कायस्थ, वडा नं. १० का वडाध्यक्ष गणेश कुमार नेपाल, विदुर नगर खेलकुद विकास समितीका संयोजक अच्युतराज महन्थ गिरी, नुवाकोट क्रिकेट संघका सचिव करण खतिवडा लगायतको सहभागिता रहेको थियो ।