शनिबार, भाद्र ७ २०८२

बेलकोटगढीका किसानलाई अनुदानमा ६ हजार कागतीको विरुवा वितरण


  • ककनी खबर
  • शुक्रबार, असार ६ २०८२

नुवाकोट । बेलकोटगढी नगरपालिकाले किसानहरुलाई अनुदानमा कागतीको बिरुवा उपलब्ध गराएको छ ।

किसानले गरेका मागको तोकिए अनुसार मापदण्ड पूरा भएका किसानलाई नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले कागतीको विरुवा वितरण गर्न सुरु गर्नुभएको हो ।


नगरप्रमुख गुरुङले किसानलाई आर्थिक रुपमा सक्षम बनाउनको लागी कफी, खुर्सानीको उत्पादन सुरु भएकाले र व्यावसायिक रुपमा कागतीको उत्पादन बृद्धि गर्ने लक्ष्य लिएकाले किसानलाई सोही अनुसार उत्पादनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

उपप्रमुख शिवप्रसाद दाहालले कागतीलाई एक पटक लगाएपछि धेरै वर्ष उत्पादन लिन सकिने, वादर लगायतका वन्यजन्तुबाट क्षति नोक्सान नहुने भएकाले बाली तथा अन्य फलफूलको तुलनामा कागती खेतीबाट किसानले राम्रो लाभ लिन सक्ने भएकाले अनुदानमा बिरुवा उपलब्ध गराएको बताउनुभयो ।

किसानको माग अनुसार विभिन्न स्थानमा रहेका किसानलाई ६ हजार कागतीको विरुवा वितरण गरिने भएको छ ।

बिरुवा माग गर्ने सम्बन्धि यसअघि जारी गरिएको सार्वजनिक सूचनाको आधारमा पालिकामा प्राप्त भएका निवेदन अनुसार किसानलाई अनुदानमा सुन कागतीको बिरुवा उपलब्ध गराइएको आर्थिक विकास शाखा (कृषि) प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार अनुदानमा कागतीको बिरुवा माग गरेका कृषि फर्म /कृषि समूह/सहकारी संघसस्था एंव कृषि फर्मको लागी ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

किसानले माग गरे अनुसार अहिले नगरपालिकाले प्रति बिरुवा रु ३० मा खरिद गरेको सुन कागतीको बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

शुक्रबारदेखि सुरु भएको बिरुवा वितरण कार्यक्रम नगरप्रमुख र उपप्रमुखले पालिकाबाट सुरुवात गर्नुभएको थियो भने आर्थिक विकास शाखा (कृषि) मार्फत ढुवानी गरेर धेरै माग गर्ने स्थानका किसानको पायक पर्ने स्थानसम्म नै उपलब्ध गराइएको छ ।

कागतीको बिरुवा वितरण पश्चात यसअघि संकलन गरिएको निवेदनको मागको आधारमा एभोकार्डोको बिरुवा पनि वितरणको तयारी गरिएको छ ।

यही असार १० भित्र बजेट ल्याउनुपर्ने व्यस्तता भएकाले त्यस लगत्तै एभोकार्डोको बिरुवा वितरण गर्ने आर्थिक विकास शाखा (कृषि)ले योजना बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार