शनिबार, भाद्र ७ २०८२

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित


  • ककनी खबर
  • शनिबार, असार १४ २०८२

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएको छ । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस भनी प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि आजै गृहमन्त्री लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रस्ताव पेश गर्नुहुँदै गृहमन्त्री लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको बताउनुभयो । वैदेशिक रोजगारमा गएका महिलाहरुले विदेशमा सन्तान जन्माउने तर नेपाल फर्किँदा त्यस्ता सन्तानले नागरिकताविहीन हुनुपर्ने अवस्था नरहने उहाँको भनाइ छ ।

विधेयकमा ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने’ व्यवस्था राखिएको छ । त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।

विधेयकमाथिको छलफलका क्रममा सांसद प्रकाश ज्वालाले यो विधेयक पारित भएर कार्यान्वयनमा आएपछि आमाको नामबाट नागरिकता पाउने बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो । वास्तविक नेपाली नागरिक नागरिकता पाउनबाट बञ्चित हुन नपरोस् र गैरनागरिकले कुनै पनि अवस्थामा नागरिक नपाओस् भनेर कानूनी व्यवस्था गर्न यो विधेयक महत्वपूर्ण हुने सांसद ज्वालाले बताउनुभयो ।

सांसद ज्वालाकुमारी साहले राष्ट्रिय सुरक्षा, एकता र सम्प्रभुतामा असर नपर्ने गरी नागरिकतासम्बन्धी व्यवस्था गर्न यो कानुन आवश्यक रहेको बताउनुभयो । त्यस्तै, नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरेको अवस्थामा त्यस्ता अभिभावकबाट जन्मेका सन्तानले आमाको नामबाट नेपाली नागरिकता लिन चाहेमा त्यस्ता नागरिक अब नागरिकताविहीन हुनुपर्ने अवस्था हट्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार