
नुवाकोट । जिल्लास्थित त्रिशूली नदीमा जलस्तर सतर्कता तह पार गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । विहान ६:३० बजे बेत्रावती जलमापन केन्द्रले मापन गरेको जलसतह सतर्कता सीमा भन्दा माथि पुगेको पुष्टि भएको हो ।
जलसतह अझै बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय क्षेत्र आसपासमा बसोबास गर्ने बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायहरूलाई उच्च सतर्कताका साथ तयार रहन निर्देशन दिइएको छ । नागरिकहरूलाई नदी किनारबाट टाढा रहन, सवारीसाधन वा पशु नदी छेउमा नलैजान, र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
अचानकको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचना पूर्णरूपमा क्षति पुगेको छ ।
टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुर्याएको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भन्सार जाँचको क्रममा राखिएका र पास भइसकेका केही विद्युतीय सवारीसाधन बगाएको अनुमान गरिएको छ ।
बाढीले चीनतर्फ जाने रसुवागढीस्थित मितेरी पुलसमेत बगाएको छ । स्थानीय प्रशासनले त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।