
नुवाकोट । बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले नेपाल–चीनको सिमाना ल्हेन्दे खोला हुदैँ त्रिशूली नदीमा आएको बाढीले क्षति पु-याएको स्थान रसुवा र नुवाकोटको आज अपरान्ह निरीक्षण गर्नुभएको छ ।
मुख्यमन्त्री लामाले नुवाकोटको विदुर नगरपालिका र किस्पाङ गाँउपालिका तथा रसुवाको उत्तरगया गाँउपालिकाको बाढी प्रभावित क्षेत्रका वस्ती, जलविद्युत अयोजना लगायतको स्थलगत अवलोकन गर्नुभयो ।
उहाँले रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत आयोजना, त्रिशूली–काठमाडौ २२० डबलसर्किट प्रशारण लाइनको पैरेबेशीँ स्थित सवस्टेशन, निर्माणाधीन माथिल्लो त्रिशूली थ्रि बी जलविद्युत आयोजना, त्रिशूली जलविद्युत केन्द्र र देवीघाट जलविद्युत केन्द्रको अवलोकन एवम् क्षतिको जानकारी लिनुभयो ।
विदुरका नगरप्रमुख राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे सहित सुरक्षा अधिकारीहरुसंगको अनुगमन पश्चात उच्च जोखिम देखिएको नुवाकोटको किस्पाङ–५ पैरेवेशीँको बस्ती र त्रिशूली–काठमाडौ २२० डबलसर्किट प्रशारण लाइनको पैरेबेशीँ स्थित सवस्टेशन क्षेत्र खाली गर्न निर्देशन दिनुभयो ।
ती क्षेत्रमा त्रिशूली नदीको कटानले बस्ती र सवस्टेशनमा क्षति पु¥याउन सुरु भइसकेको जानकारीका आधारमा खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । नागरिकलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न र खानाबाँसको प्रबन्ध मिलाउन सुरक्षा निकाय र स्थानीय सरकारलाई मुख्यमन्त्री लामाले भन्नुभएको छ ।
ती क्षेत्रमा रहेका जलविद्युत आयोजनाको बाँधस्थलमा नै क्षति पुगेकाले विद्युत उत्पादन बन्द भएको छ । विद्युत आपूर्ति नहुदाँ हुनसक्ने कठिनाईलाई पनि मध्येनगर गरेर तत्कालको लागी नागरिकको जिउज्यान बचाउन र सहज रुपमा सञ्चार सम्पर्क मिलाउन मुख्यमन्त्री लामाले सुझाब दिनुभएको हो ।
सोही क्रममा उहाँले नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा आज बिहान फसेका दुई जनाको उद्धार पश्चात भइरहेको स्वास्थ्य अबस्थाको जानकारी लिनुभयो । स्थानीय पाल्देन तामाङ र उहाँको श्रीमती मङ्गली तामाङको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भएपछि हाल त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
मुख्यमन्त्री तामाङले अस्पतालमा पुगेर उहाँहरुको स्वास्थ्य अबस्थाको जानकारी लिदै उपचारको प्रबन्ध राम्रोसंग मिलाउन अस्पताल प्रशासनलाई भन्नुभएको छ ।