शनिबार, भाद्र ७ २०८२

नेकपा (माओवादी केन्द्र) का पुराना कार्यकर्ता केशव पुडासैनी ‘विमल’द्वारा पार्टी परित्याग


  • ककनी खबर
  • शुक्रबार, साउन ३ २०८२

नुवाकोट । लामो समयदेखि नेकपा (माओवादी केन्द्र) सँग आबद्ध रहँदै आएका नुवाकोट बेलकोटगढी–३ निवासी केशव पुडासैनी ‘विमल’ले पार्टी परित्याग गर्दै राजीनामा दिएका छन्।

वि.सं. २०५४ सालमा श्री वीरेन्द्र माध्यमिक विद्यालय, कुमरी–३ मा कार्यरत रहँदा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मसाल) हुँदै माओवादी केन्द्रको सशस्त्र जनयुद्धमा सहभागी भएका पुडासैनीले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट आजैका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

पार्टी निर्माण, संगठन विस्तार, भूमिगत गतिविधि, जनयुद्धको तयारीदेखि कार्यान्वयनसम्म सक्रिय सहभागी रहेका पुडासैनीले पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। उनले लेखेका छन्, “हालसम्म निष्पक्षताको भावना बोकेर आएको कुरा स्मरण गराउँदै अब उप्रान्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट आजको मितिदेखि लागु हुने गरी राजीनामा दिएको छु।”

राजीनामामा पुडासैनीले ३ दशकभन्दा लामो माओवादी राजनीतिमा आफूले योगदान दिएको र साथ–सहयोग गर्ने सबैप्रति आभारसमेत प्रकट गरेका छन्।

पुडासैनी ‘विमल’ नेकपाका पुराना, समर्पित तथा निष्ठावान कार्यकर्ताको रूपमा चिनिन्थे। उनले पार्टी परित्यागसँगै अबको आफ्नो राजनीतिक यात्राबारे भने खुलाएका छैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार