
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गाउँपालिका भित्रका सबै पशुहरूको औषधी उपचार तथा बन्ध्याकरण लगायतका कुनै पनि सेवा बापत शुल्क नलिन निर्देशन दिनुभएको छ । अध्यक्ष अधिकारीले पशु सेवा उपशाखाहरुको स्थलगत अनुगमन एंव निरीक्षण, किसानहरुसंग लिनुभएको प्रतिक्रिया एंव प्राप्त भएको गुनासो, सुझाब र सल्लाहको आधारमा पशु सेवा उपशाखाहरूबाट प्रदान हुने कुनै पनि सेवा निःशुल्क गर्न निर्देशन दिनुभएको हो ।
अध्यक्ष अधिकारीको निर्देशन पश्चात प्रमुख प्रशासकीय अधिकृत सिर्जना अर्यालले जारी गर्नुभएको सूचना अनुसार पशुपन्छीको औषधि उपचारका लागि विगतमा लिइँदै आएको दस्तुर (शुल्क) नलिन सहित कार्यालय समय अवधि भित्र प्राविधिक सेवा लगायतको बापत कुनै पनि किसानबाट शुल्क नलिन र कार्यालय समय भन्दा बाहिरको समयमा सेवा प्रदान गरिएको छ भने त्यस बापत लाग्ने शुल्क न्यूनतम मात्र लिन भनिएको छ । त्यसरी लिएको शुल्कको सम्बन्धमा कुन सेवा बापतको के कती सेवा लिइएको हो सेवा लिने किसानलाई प्रस्ट जानकारी गराउनु भनिएको छ।
गाउँपालिकाले पशु सेवा शाखामा औषधि उपचारमा अब कुनै दस्तुर नलिनू भनी निर्देशन दिएको छ। किसानलाई अनावश्यक शुल्क नलिइ सुलभ सेवा दिन भनिएको छ।
गाँउपालिका अध्यक्ष अधिकारीले पशुपालक किसानहरुलाई पालिकाबाट उपलब्ध हुने सेवाहरु सकेसम्म कार्यालय समय भित्र लिएर निशुल्क उपलब्ध रहेको सेवाको लाभ उठाउन अनुरोध गर्नुभएको छ ।
गाँउपालिका अन्तरगतको पशु सेवा उपशाखामा कार्यरत प्राविधिक कर्मचारीहरुलाई पनि पशुपालक कृषकहरूको सेवामा लगनशील भएर काम गर्न र जनगुनासो नआउने गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै अध्यक्ष अधिकारीले कार्यालय समयमा सेवा दिए बापत कुनै पनि कर्मचारीले शुल्क मागेमा गाउँपालिको कार्यालयमा खबर गर्नुहुन कृषकहरूलाई आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “किसानहरू हाम्रो गाउँपालिकाको मेरुदण्ड हुन्। उनीहरूको समस्यालाई बुझेर समाधान गर्ने काममा गाउँपालिका प्रतिबद्ध छ। औषधि उपचार जस्ता सेवा निःशुल्क गर्नु किसान हितका लागि उठाइएको सकारात्मक कदम हो। आगामी दिनमा पनि किसानमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढ्छु।”