
नुवाकोट । हालैको वर्षाका कारण क्षतिग्रस्त बनेको क्रसरडाँडा ओरालोदेखि दाङसिङ मावि–जब्बरेचौर–रयलछाप–भोर्लेनी सडकको स्थलगत निरीक्षण तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले गर्नु भएको छ ।
सडकका विभिन्न भागमा भलले खोलेर भूक्षय भई सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको पाइएको छ । निरीक्षणपछि अध्यक्ष अधिकारीले प्राविधिक शाखालाई भोलिदेखि नै मर्मत तथा स्तरोन्नतिको कार्य सुरु गर्न निर्देशन दिनुभएको हो ।
उहाँले सडक मर्मतसँगै पक्की नाला भएको ठाउँमा सफा गर्ने र नभएको ठाउँमा कच्ची नाला खनेर वर्षाको समयमा सडकमा भल नपस्ने उपाय अपनाउन समेत निर्देशन दिनुभयो ।
यो सडकखण्ड वडा नं. १ अन्तर्गत रयलछाप, खहरे, भोर्लेनी, कात्तिके, हल्ले, नेवारगाउँ, खनालगाउँ र तल्लोहिले जस्ता बस्तीहरूका बासिन्दाको कृषि, व्यापार तथा दैनिक आवतजावतको प्रमुख मार्ग हो ।