शनिबार, भाद्र ७ २०८२

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै


  • ककनी खबर
  • मंगलबार, साउन २८ २०८२

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका बानियाँ गएको साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्तापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।

त्यही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाउनुभएको हो ।

यसैबीच सत्तारूढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् ।

कांग्रेस प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जन र एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना निकालेर प्रदेशसभाको आजको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गर्नुभएको हो ।

बागमती प्रदेशसभाको बैठक आजदेखि प्रदेशसभा सचिवालयको नयाँ भवनमा सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार