शनिबार, भाद्र ७ २०८२

३५औँ पूर्व प्रहरी दिवस नुवाकोटमा पनि विविध कार्यक्रम गरेर मनाइयो, पूर्व प्रहरीले पुर्याएको योगदानको प्रशंसा


  • ककनी खबर
  • आइतबार, भाद्र १ २०८२

नुवाकोट । ३५औँ पूर्व प्रहरी दिवसको अवसरमा नेपाल पूर्व प्रहरी संगठन नुवाकोटले जिल्लामा विविध कार्यक्रम सहित दिवस मनाएको छ। कार्यक्रमको सभापतित्व संगठनका नुवाकोट अध्यक्ष रामबहादुर वस्तीले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) दुर्गाराज रेग्मी सहभागी हुनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक रेग्मीले पूर्व प्रहरी सदस्यहरू राष्ट्र सेवामा समर्पित व्यक्तित्वहरू भएको बताउनुभयो। उहाँले पूर्व प्रहरीहरू अझै पनि समाजका लागि प्रेरणादायी पात्र रहेको उल्लेख गर्दै पूर्वप्रहरीसंग भएको अनुभव, निष्ठा र अनुशासन नेपाल प्रहरीको लागी उदाहरणीय रहेको बताउनुभयो ।

पूर्व प्रहरी संगठनको भूमिका समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न अझै पनि महत्त्वपूर्ण रहेकाले आगामी दिनमा पनि प्रहरी संगठन र पूर्व प्रहरीबीच सहकार्य, आपसी समझदारी र सहकार्यलाई अझै मजबुत बनाउँदै लैजान आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

३५औँ पूर्व प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका कार्यबाहक अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक विनोद सिंहको शुभकामना सन्देश पनि वाचन गरेर सहभागीलाई जानकारी गराइएको थियो।

शुभकामना सन्देशमार्फत उहाँले पूर्व प्रहरी सदस्यहरूको निरन्तर योगदान, अनुशासन र सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै संगठनलाई अझ सशक्त बनाउँदै लैजान सबैलाई आग्रह गर्नुभएको थियो। उहाँले पूर्व प्रहरीहरूले समाजमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको उहाँले पठाउनुभएको शुभकामना सन्देश मार्फत जानकारी गराइएको थियो । 

पूर्व प्रहरी संगठन नुवाकोटका पूर्व अध्यक्ष अरुणप्रकाश घले, कोषाध्यक्ष सागर तामाङ लगायतको उपस्थिति रहेको कार्यक्रममा नेपाल पुर्वप्रहरी संगठन, जिल्ला कार्यसमिती नुवाकोटबाट भइरहेका गतिविधि, प्रहरी संगठनप्रतिको पूर्व प्रहरीको योगदान तथा सामाजिक उत्तरदायित्वबारे चर्चा गरिएको थियो।

कार्यक्रममा आयोजित हाजिरजवाफ प्रतियोगिताबाट विजयी हुने सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको छ । हाजिरी जवाफमा रामकृष्ण कोइराला, नारायणप्रसाद कोइराला र टलकमान घलेको समूह पहिलो भएको थियो भने रामप्रसाद नेपाल, साधुराम रिमाल र हिरालाल तामाङको समूह दोश्रो भएको कोषाध्यक्ष सागर तामाङले जानकारी दिनुभयो।

उहाँको अनुसार नुवाकोटमा नेपाल पूर्व प्रहरी संगठनमा हाल २७० जनाको हाराहारीमा सदस्य रहेको र यो संख्या थपिँदै गइरहेको छ । नुवाकोटका पूर्व प्रहरीहरु अधिकांश काठमाडौमा बसोबास गर्दै आएको हुदाँ उनीहरुलाई पनि संगठनमा आबद्ध गराउनको लागी अहिलेको कार्यसमिति सक्रिय रुपमा लागिरहेको छ ।

नेपाल पूर्व प्रहरी संगठनले सञ्चालन गर्दै आएको सहकारी संस्था थप व्यवस्थित बनाई अघि बढाइने, साथै आगामी दिनमा पूर्व प्रहरी संगठनलाई अझ सक्रिय र प्रभावकारी बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार