
नुवाकोट । तारकेश्वर गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । ११ असोजसम्म सबै वडामा कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका अनुसार अाज वडा नं १ को कार्यालयमा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य परामर्श सहित अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सम्पन्न भएकाे हाे ।
यसअघि, गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले दसैंको फूलपातीसम्म सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण र ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न गरिसक्न पञ्जीकरण शाखा र स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको थियो ।
विषम परिस्थितिका बाबजुद चाडपर्वलाई ध्यानमा राखी दसैंअघि नै भत्ता वितरण गर्न अध्यक्ष अधिकारीले जोड दिनुभएको हो । सामान्यतया आर्थिक वर्षको पहिलो त्रैमासको भत्ता वितरण गर्ने समय असोज मसान्त हो ।
अध्यक्ष अधिकारीले अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रमलाई थप प्रभावकारी बनाई जनगुनासो नआउने गरी काम गर्न स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको छ । उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउन समन्वय र सहजीकरण गर्नुहुन सबै वडाका वडाध्यक्षहरूलाई आग्रह गर्नुभएको छ ।
समयमा भत्ता वितरण नहुने र ज्येष्ठ नागरिकहरुले झन्झट बेहोर्नुपर्ने समस्याको अन्त्य गर्दै अध्यक्ष अधिकारीले आफू निर्वाचित भएलगत्तै प्रत्येक ३÷३ महिनामा वडा वडामा कार्यक्रम गरी आमाबुबाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्शसँगै वृद्धभत्ता वितरण गर्ने अभ्यासस्वरूप ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु गर्नुभएको थियो ।
कार्यक्रमको तालिका यसप्रकार छ :
असोज ७ गते विहान १० बजेदेखि साझ ५ बजे सम्म :- १ नं. वडा कार्यालय
८ गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म :- ६ नं वडा कार्यालय
९ गते बिहान ८ वजेदेखि दिउसो ३ बजे सम्म :- ५ न वडा कार्यालय
९ गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म :- ४ नं वडा कार्यालय
११ गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म :- ३ नं वडा कार्यालय
१० गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म :- २ नं वडा कार्यालय