
काठमाडौँ । सरकारले भोलि र पर्सि सार्वजनिक विदा दिने निर्णय गरेको छ । देशभर लगातार ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिँदै विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
वर्षाका कारण हुनसक्ने बाढी, डुबान, भू–क्षय लगायतका जोखिम एवम् सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने र मानवीय क्षतिसमेत हुन सक्ने भन्दै सार्वजनिक विदा दिएको मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु भने खुल्ला नै रहनेछ ।
साथै, देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेकाले विशेष सतर्कता अपनाउन पनि सरकारले अनुरोध गरेको छ । विदाको समयमा अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा बस्न आम नागरिकलाई सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार