नुवाकोट । विश्व एड्स दिवसको अवसरमा त्रिशूली अस्पताल नुवाकोटमा आज एक कार्यक्रमका बीच दिप प्रज्वलन गरी एचआईभी/एड्स न्यूनीकरण तथा सचेतनामूलक पहलहरूबारे छलफल गरिएको छ ।
दिप प्रज्वलनपछि आयोजित संक्षिप्त कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले नुवाकोटमा एचआईभी/एड्सको वर्तमान अवस्था, रोकथामका उपायहरू, नियमित सेवा उपलब्धता तथा आगामी रणनीतिबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको अस्पताल व्यवस्थापन अधिकृत एवं सूचना अधिकारी रिकेश रानाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख वक्ता अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको अनुसार नुवाकोटमा एचआईभी/एड्स नियन्त्रणका लागि अस्पतालले सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राखेको छ।
“नुवाकोटमा एचआईभी/एड्स न्यूनीकरणका लागि स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएका छौँ। पहिचान भइसकेका व्यक्तिहरूलाई नियमित औषधि सेवा उपलब्ध गराउनु र उनीहरूलाई सेवा–सुविधाबाट वञ्चित हुन नदिनु नै हाम्रो प्रमुख लक्ष्य हो,” अस्पतालका निर्देशक डा. लामाले भन्नुभयो ।
यस्तै, मेडिकल अधिकृत डा. सुदिप कोइरालाले समुदायस्तरमै प्रभावकारी सचेतना अभिवृद्धि नभएसम्म एड्स नियन्त्रण चुनौतीपूर्ण रहनेसमेत उल्लेख गर्नुभयो। “सुरक्षित व्यवहार अपनाउनु, नियमित परीक्षण गरिरहनु र लक्षण देखिएलगत्तै उपचारमा जोडिनु—यी तीनै उपाय एड्स रोकथामका मुख्य आधार हुन् । समुदायमा यसबारे अझै गहिरो सचेतना आवश्यक छ,”
उहाँले बताउनुभयो ।
यस्तै, त्रिशुली प्लसका कोषाध्यक्ष विष्णु श्रेष्ठले संक्रमितहरूलाई स्वास्थ्य सेवा र औषधि मात्र पर्याप्त नभएको बताउँदै, सामाजिक सहयोग, परामर्श र मनोसामाजिक समर्थन पनि उत्तिकै महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । उहाँका अनुसार आगामी दिनमा समुदाय–आधारित कार्यक्रमलाई थप सुदृढ बनाइनेछ ।
अस्पतालका अनुसार नुवाकोटमा हालसम्म १९५ जना एचआईभी/एड्स संक्रमित औपचारिक रूपमा पहिचान भई नियमित औषधि सेवन गर्दै आएका छन् ।