काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्न पालिकालाई ताकेता गर्नुभएको छ ।
कतिपय पालिकाहरूले व्यवस्थापन समिति गठन नगरिकन मनोमानी रूपमा विद्यालय सञ्चालन गरिरहेको जानकारी आएको भन्दै मन्त्री पुनले व्यवस्थापन समिति गठन नगरेका विद्यालयले प्राप्त गर्ने सङ्घीय अनुदान रोक्का गर्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार शिक्षा मन्त्रालयले व्यवस्थापन समिति गठन नगर्ने पालिका र विद्यालयको नामवली सङ्कलन गरिरहेको छ ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले व्यवस्थापन समिति गठन गर्ने पालिका र विद्यालयको नाम उपलब्ध गराइदिन अभिभावकहरूलाई आग्रह पनि गर्नुभएको छ ।
शिक्षा ऐन अनुसार पालिकाले विद्यालय व्यवस्थापन समितिको गठन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाएर व्यवस्थापन समिति गठन गर्नुपर्ने हुन्छ ।
यसअघि काठमाण्डाै महानगरपालिकाले स्थानीय शिक्षा ऐन २०७५ लाई संशोधन गरेर वडाको अध्यक्ष वा उनले तोकेको वडा सदस्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहने व्यवस्था गरेको थियो । तर त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्न रोक लगाएको छ ।