काठमाडौँ । राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध आक्रमणसहित राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको बताउनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै मदुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरेर देशबाहिर लगिसकिएको बताउनुभएको हो ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो र प्रथम महिला रहेको ठाउँका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताउनुभएको बीबीसीले जनाएको छ । सीबीएस न्यूजका अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले मदुरोलाई पक्राउ गरेको हो ।
डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो । यसअघि अमेरिकाले मदुरोलाई पक्राउ गर्न सघाउनेगरी जानकारी दिनेलाई पाँच करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । आज भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न भागहरूमा विस्फोटहरू भएका छन् । क्षतीको विवरण आइसकेको छैन ।
अमेरिकी आक्रमणपछि भेनेजुएलाको सरकारले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । आक्रमण शुरु हुनसाथ राष्ट्रपति मदुरोले अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयासको रूपमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गर्नुभएको थियो ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो अवैध रूपमा निर्वाचित भएको र उहाँ व्यक्तिगत रूपमा देशभर लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाएको छ । दक्षिण क्यारबियन सागरमा महिनौंदेखि अमेरिकी सेना युद्धपोतसहित परिचालन भएका थिए । यसैबीच कोलम्बिया, ईरान र क्युवाले भेनेजुएलामाथिको अमेरिकी आक्रमणको विरोध गरेका छन् ।