नुवाकोट । तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा तारकेश्वर सांस्कृतिक तथा खेलकुद विकास मञ्चद्वारा आयोजित गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
‘विकासको सारथी : जागृत र सशक्त युवा’ भन्ने नाराका साथ माघ ६ गतेदेखि तारकेश्वर गाउँपालिका–१ स्थित जब्बरे चौर खेलकुद रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा किस्पाङ युवा क्लबले सयपत्री युवा क्लब निग्लेनीलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको छ।
समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले विजेता टोली किस्पाङ युवा क्लबलाई रु २ लाख २ हजार २ सय नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो। उपविजेता बनेको सयपत्री युवा क्लबले रु १ लाख १ हजार १ सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यसैगरी सेमिफाइनलमा प्रवेश गरेका शिवालय युवा क्लब (तारुका) र न्यु भिजन युवा क्लब (देवीघाट) ले जनही रु २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
समापन समारोहसँगै आयोजित ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री लामाले तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभयो। उहाँले यस क्षेत्रको सर्वाङ्गीण विकासमा आफू लामो समयदेखि संलग्न रहेको स्मरण गर्दै आगामी दिनमा पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । युवाहरूको एकता, जागरण र नेतृत्व विकासमा खेलकुद महत्वपूर्ण माध्यम हुने उल्लेख गर्दै खेलकुदको विकास, व्यावसायीकरण तथा खेलकुद पर्यटन प्रवर्द्धनका लागि सबै मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले समस्त तारकेश्वरवासीलाई सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुनरुत्थानमा सबैको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । संस्कृतिलाई पर्यटनसँग जोड्न सके सांस्कृतिक पर्यटनमार्फत गाउँको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने उहाँको भनाइ थियो ।
अध्यक्ष अधिकारीले खेलकुद पर्यटनलाई अर्को महत्वपूर्ण सम्भावनाको क्षेत्रका रूपमा उल्लेख गर्दै खेलकुद युवाहरूको मनोरञ्जन मात्र नभई तन्दुरुस्ती, एकता र सामाजिक जागरणको प्रतीक भएको बताउनुभयो। खेलकुद विकासलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पार्दै उहाँले आफ्नो पहलमा सुरु गरिएको ‘धुलोमा होइन, दुबोमा खेलाउने’ अभियान अन्तर्गत जब्बरे चौरमा आधुनिक खेलकुद रङ्गशाला निर्माण गरिएको जानकारी दिनुभयो ।