शनिबार, फाल्गुन २ २०८२

जन्तरेगढीमा शैक्षिक अन्तरक्रिया तथा असल अभ्यासको अनुभव साटासाट


  • ककनी खबर
  • शनिबार, फाल्गुन २ २०८२

नुवाकोट । तारकेश्वर गाउँपालिकाको शिर वडा नं १ को जन्तरेगढीमा शनिबार ‘बृहत शैक्षिक अन्तरक्रिया तथा असल अभ्यास आदान–प्रदान सहितको शिक्षक शिक्षिका भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

तारकेश्वर गाउँपालिकाको शिक्षा तथा युवा विकास शाखाको आयोजना र जन्तरेगढीका स्थानीयहरूको व्यवस्थापनमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक शिव अधिकारी ‘अविरल’ले शैक्षिक सुधारको अभियानअन्तर्गत आफूले गाउँपालिकाबाट अघि बढाएका विभिन्न प्रयासहरूको स्मरण गर्दै त्यसैको एउटा प्रयासका रुपमा असल अभ्यास आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

शिक्षाको गुणस्तर विकासका लागि शिक्षकहरूको अन्तरक्रिया सीप र योजनाहरूको आदानप्रदान र विद्यालयहरूमा सञ्चालन भइरहेका शैक्षिक क्रियाकलापहरूको समीक्षा आवश्यक रहेको भन्दै अध्यक्ष अधिकारीले यस कार्यक्रम मार्फत शिक्षकहरूको सर्वाङ्गीण विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

“कोरा कागजी अध्ययन भन्दा सांस्कृतिक ऐतिहासिक र प्राकृतिक सम्पदाहरूको प्रत्यक्ष अध्ययन अवलोकनबाट प्राप्त हुने ज्ञान नै शिक्षक र विद्यार्थी दुवैका लागि चिरस्थायी हुने गर्दछ ।” अध्यक्ष अधिकारीले भन्नुभयो “ विद्यार्थीहरूका लागि पनि वर्षमा एकपटक शैक्षिक अवलोकन भ्रमणको कार्यक्रम सञ्चालन गर्दै आएको र शिक्षकहरूका लागि पनि ऐतिहासिक सम्पदाहरूको अध्ययन अवलोकनको कार्यक्रम लाई प्राथमिकतामा दिइएको छ ।”

तारकेश्वरकै शिरको रूपमा रहेको र वाइबा राजाहरूको दरबार समेत रहेको ऐतिहासिक महत्त्वको र पर्यटकीय हिसाबले पनि निकै ठूलो सम्भावना बोकेको जन्तरेगढीमा शिक्षकहरूको बृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन हुँदा त्यसले शिक्षकहरूको ज्ञान र अध्ययनमा मात्र नभई शिक्षकहरू मार्फत विद्यालयहरूमा हुने शैक्षिक गतिविधिमा र त्यसभन्दामाथि पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा समेत उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको अध्यक्ष अधिकारीको भनाई छ ।

शिक्षकहरू विद्यार्थीहरूको मात्र नभई सिङ्गो समाजकै मार्गदर्शक भएकाले समाजको चेतना स्तरको अभिवृद्धिमा समेत शिक्षकहरूले          महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले गाउँपालिकाले शिक्षक वर्गलाई सर्वोच्च पुँजीका रुपमा ग्रहण गरेको र शिक्षकहरूको समस्याको समाधानका लागि आफू सधैँ तयार रहेको उहाँले बताउनुभयो ।

घरपायक नपरेका कारण केही शिक्षक समस्यामा रहेको प्रति आफू अवगत रहेको स्मरण गराउदै उहाँले समस्या समाधानको लागी आवश्यक सहजिकरणको लागी पालिका सकारात्मक रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । समस्यामा रहेका शिक्षकलाई गाउँपालिकाको शिक्षक शाखामा समन्वय गरी सरुवाका लागि निवेदन दिन उहाँले आग्रह गर्नुभएको छ ।

अहिले निर्वाचन आचारसंहिताका कारण निवेदनको तत्कालै सम्बोधन गर्न नमिल्ने भएकाले चुनाव लगत्तै मर्कामा परेका शिक्षकहरूको सहुलियतका लागि सरुवाको व्यवस्था गर्न आफू तयार रहेको उहाँले विश्वास दिलाउनुभयो ।

विगतमा लामो समयसम्म एउटै स्थानमा जमेर रहँदा शिक्षकहरूमा गतिशीलताको कमी आएको विभिन्न अध्ययनको निष्कर्षअनुसार गाउँपालिकाले एकपटकका लागि सबै शिक्षकको सरुवा गर्ने नीति लिएको स्पष्ट पार्दै अध्यक्ष अधिकारीले अब हुने सरुवाहरूमा भने शिक्षकहरूको पायक र सहजतालाई प्राथमिकतामा राखिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार