आइतबार, फाल्गुन ३ २०८२

अन्तर–जिल्लास्तरीय चित्रकला प्रतियोगितामा दिशान्त मालाकार र प्रविधि राजभण्डारी उत्कृष्ट


  • ककनी खबर
  • आइतबार, फाल्गुन ३ २०८२

नुवाकोट । तामाङ प्लाजा नुवाकोटको आयोजनामा नुवाकोट रसुवा र धादिङका विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘अन्तर–जिल्लास्तरीय चित्रकला प्रतियोगितामा दिशान्त मलाकार र प्रबिधि राजभण्डारी उत्कृष्ट भएका छन् ।

शनिबार तामाङ प्लाजा एग्रो रिसोर्टमा सम्पन्न भएको ‘अन्तर–जिल्लास्तरीय चित्रकला प्रतियोगिता तथा चित्रकला मेला–२०८२’ मा कक्षा १ देखि ५ सम्मको समूहमा इपिक किड्स वर्ल्ड, बट्टारका कक्षा ३ मा अध्ययनरत दिशान्त मलाकारले प्रथम स्थान हासिल गर्नुभएका हो । यस्तै, कक्षा ६ देखि १० सम्मको समूहतर्फ शुभेनियर बोर्डिङ स्कूल बट्टारमा कक्षा १० मा अध्ययनरत प्रबिधि राजभण्डारी प्रथम भएको निर्णायक टोलीका संयोजक कलाबोध नेपालका अध्यक्ष मुकेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार कक्षा १ देखि ५ सम्मको समूहतर्फ दोश्रो स्थान पनि इपिक किड्स वर्ल्डमा कक्षा ५ मा अध्ययनरत ब्रायन घले र तेश्रो स्थान जेडी बोर्डिङ स्कूल बट्टारमा कक्षा चारमा अध्ययनरत दिपसिका लावत हुनुभयो । आयोजक तामाङ प्लाजा एग्रो रिसोर्टका व्यवस्थापक सुशन केसीको अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीले माता–पिता प्रेम र गुरुको आदर, वातावरण संरक्षण वा मेरो विद्यालय शीर्षक मध्ये कुनै एक विषयमा चित्रकला तयार गर्न दिइएको थियो ।

यस्तै, कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई जलवायु परिवर्तन, संस्कृति तथा पर्यटन वा आफ्नो जिल्लाको पहिचान शीर्षक मध्ये कुनै एक शिर्षकमा केन्द्रित भएर चित्रकला तयार गर्न दिइएकोमा शुभेनियर बोर्डिङ स्कूलका प्रबिधि राजभण्डारी प्रथम, नेशनल बेथेल एकेडेमी कोलनीमा कक्षा ८ मा अध्ययनरत जोयल तामाङ दोश्रो र गणेश भ्यु बाटिका स्कूल बट्टारमा कक्षा ७ मा अध्ययनरत दिना मिजार तेश्रो हुनुभयो ।

प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको समूहतर्फ प्रथम हुने विद्यार्थीले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, कक्षा ६ देखि १० सम्मको समूहतर्फ प्रथम हुने विद्यार्थीले ३० हजार, दोश्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट हुने सहित सहभागी सबै विद्यार्थीले प्रमाणपत्र सहित तामाङ प्लाजामा सञ्चालित ‘नुवाकोट थ्री डी आर्ट म्युजियम’ भ्रमण र खाजाको समेत प्रबन्ध मिलाइएको आयोजक तामाङ प्लाजा एग्रो रिसोर्टका व्यवस्थापक सुशन केसीले जानकारी दिनुभयो । प्रतियोगितामा नुवाकोट, रसुवा र धादिङका समेत गरेर २५० जना भन्दाबढी विद्यार्थीको सहभागिता रहेको थियो ।

‘अन्तर–जिल्लास्तरीय चित्रकला प्रतियोगिता तथा चित्रकला मेला–२०८२’ को प्रमुख अतिथी विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले नुवाकोटमा पहिलो पटक आयोजना गरिएको चित्रकला प्रतियोगिता मार्फत विद्यार्थीहरूमा निहित सृजनशीलता, कल्पनाशक्ति तथा कलात्मक प्रतिभाको विकास र प्रोत्साहनमा महत्वपूर्ण टेवा पुगेको भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो ।

उहाँले विद्यार्थीको सर्वाङ्गिण विकासको लागी विदुर नगरपालिकाबाट रचनात्मक गतिविधि सञ्चालन गर्दै आएकोमा तामाङ प्लाजाको तर्फबाट आयोजना गरिएको चित्रकला प्रतियोगिता नविनतम कार्यको रुपमा रहेकाले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । आगामी दिनममा नगरपालिकाको तर्फबाट सहयोगको समेत प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, जिल्ला स्थित विभिन्न शिक्षा क्षेत्रमा कार्यरत कार्यालय, संघसस्था, विद्यालय लगायतको सहभागिता रहेको थियो ।

तामाङ प्लाजाले आर्टशाला नेपालसंगको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा समावेश गरिएको फेस पेन्टिङ, स्टोन आर्ट, लाइभ आर्ट, पोटरी, प्रिन्ट मेकिङ, जिप्स क्यास्ट, स्केच लगायतमा कलाप्रेमीहरुको आकर्षण देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार