नुवाकोट । लोकतन्त्रलाई सुदृढ बनाउन जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी पत्रकारिता अपरिहार्य रहेको यहाँका सरोकारवालाहरूले बताएका छन् । सम्पादक समाज नेपालद्वारा आज विदुरमा आयोजित ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तक्र्रियामा सहभागीहरूले सुशासन, पारदर्शिता र समाज रूपान्तरणका लागि सञ्चार क्षेत्रको भूमिका सधैँ निर्णायक रहनेमा जोड दिएका हुन् ।
कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा जनप्रतिनिधिले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै व्यावसायिक आचरण, सत्यपन र सन्तुलित प्रस्तुतिकरणमार्फत जनविश्वास कायम राख्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले स्थानीय सरकारका नीति, कार्यक्रम र सेवा प्रवाहलाई प्रभावकारी रूपमा जनतासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयोे । “सूचनाको सम्प्रेषणका विभिन्न माध्यम भए पनि सञ्चार क्षेत्रको भूमिका अग्रस्थानमा छ”, उहाँले भन्नुभयो, “सरकारलाई जवाफदेही र जनतालाई सचेत बनाउने सशक्त माध्यम नै सञ्चार क्षेत्र नै हो ।”
नगरप्रमुख श्रेष्ठले जनतालाई सर्वोच्च मान्दै सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । विकास निर्माणका गतिविधि तथा सार्वजनिक सरोकारका विषयमा सञ्चारमाध्यमसँग सकारात्मक सहकार्यलाई निरन्तरता दिइने उहाँको प्रतिबद्धता छ ।
उहाँले लोकतन्त्रमा निर्वाचनको अर्काे विपकल्प नरहेको चर्चा गर्दै भयरहित निर्वाचन सम्पन्न गर्न सबैको सहकार्य, समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।
सम्पादक समाजको अध्यक्ष पुरु रिसालले पत्रकारिता स्वभावतः जिम्मेवार र संवेदनशील पेसा भएकाले यसलाई अझ सजग, सचेत र व्यावसायिक अनुशासनका साथ निरन्तरता दिनुपर्ने बताउनुभयो । सत्यतथ्यमा आधारित, सन्तुलित र उत्तरदायी सामग्री प्रस्तुतिकरणमार्फत नै पत्रकारिताको विश्वसनीयता जोगाउन सकिने उहाँको धारणा थियो ।
समाजका संरक्षक किरण वैद्यले जिम्मेवार पत्रकारिताका माध्यमबाट मात्र नागरिकको अपेक्षा पूरा हुने हुँदा नागरिकका अपेक्षाअनुसारका मेडियाले ‘कन्टेन्ट’ प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
समाजका महासचिव श्यामकाजी डोटेलले वर्तमान परिवेशमा सञ्चार क्षेत्रका लागि प्रविधि र बदलिँदो प्रवृत्ति मुख्य चुनौतीका रूपमा देखापरेको औँल्याउनुभयो ।
डिजिटल माध्यमको तीव्र विस्तारसँगै पत्रकारहरूले नयाँ प्रविधिलाई आत्मसात् गर्दै आफ्नो दक्षता, क्षमता र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले स्मरण गराउनुभयो । तर, सञ्चार क्षेत्रको गरिमा कमजोर बनाउने गैरव्यावसायिक र अव्यवस्थित मानवीय प्रवृत्तिलाई समयमै सुधार गर्न आवश्यक रहेको उहाँले स्पष्ट गर्नुभयो । पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितालाई व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र पेसागत मर्यादा सुदृढ रहने उहाँको भनाइ छ ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी धु्रव रावलले नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता रहेको चर्चा गर्दै यसका लागि तीनै तहका सरकारले ध्यान दिन आवश्यक रहेकामा जोड दिनुभयो ।
अन्तक्र्रियामा सहभागी शिक्षक बाबुराम लामिछाने, रेडक्रसकर्मी नवराज सुवेदी, रामशरण थापा तथा यशान्त रिजाल लगायतले पछिल्लो समय सञ्चार क्षेत्रमा देखापरेको विश्वसनीयताको प्रश्नप्रति गम्भीर बन्न सञ्चार क्षेत्रलाई सुझाव दिनुभयो ।
उहाँहरूले सही, तथ्यपरक र आधिकारिक सूचनाको सम्प्रेषणका सन्दर्भमा सञ्चारमाध्यमलाई सामाजिक सञ्जालसँग दाँज्न नसकिने स्पष्ट पार्दै व्यावसायिक पत्रकारिता र अनियन्त्रित अभिव्यक्तिबीचको फरक छुट्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । मिडियाको जिम्मेवार भूमिकामा देखिएका कमजोरीलाई समयमै आत्मसमीक्षा गर्दै सच्याउन सुझाव दिएका छन् ।
कार्यक्रममा सञ्चारकर्मीले आफ्नो पेसाप्रति इमान्दारिता, लगनशीलता र उत्तरदायित्वमा सदैव प्रतिबद्ध रहेको जनाउँदै पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितालाई आत्मसात् गर्दै अघि बढिरहेको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रशिक्षक तोया गौतमले प्रस्तुतिकरणमार्फत डिजिटल प्रभाव, सामाजिक सञ्जालको तीव्र विस्तार तथा अनलाइन सञ्चारमाध्यमको बढ्दो बाहुल्यताका विषयमा जानकारी गराउनुभयो । उहाँले डिजिटल युगमा सूचना प्रवाहको गति तीव्र बनेसँगै तथ्य परीक्षण, स्रोतको विश्वसनीयता र सामग्रीको गुणस्तर झनै महत्त्वपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । अनलाइन पत्रकारिताको प्रतिस्पर्धी परिवेशमा व्यावसायिकता, जिम्मेवारी र विश्वसनीयतालाई सन्तुलित राख्नु नै मुख्य चुनौती रहेको उहाँको प्रस्तुतिकरणमा औँल्याइएको थियो ।
यसक्रममा समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले ‘फेक न्युज’ र ‘सामाजिक सञ्जाल’का कारण मूलधारका सञ्चारमाध्यम समस्यामा पर्दै गएको टिप्पणी गर्नुभयो । गोरखापत्र दैनिकका सम्पादकसमेत रहनुभएको उहाँले नागरिकको अपेक्षालाई समाचारमा प्रमुख प्राथमिकता दिन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
मातृभूमि नेपालका तत्कालीन प्रकाशक तथा सम्पादक गोविन्द वियोगीले सम्पादक समाज नेपालको स्थापना गर्नुभएको थियो । वियोगीले नेपाली पत्रकारिताका क्षेत्रमा पुर्याउनुभएको योगदान र पत्रकारिताप्रतिको समर्पणलाई निरन्तरता दिँदै मूलधारका सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको सक्रिय सहभागितामा समाज सञ्चालन हुँदै आएको छ । समाजले नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा आफ्नै भवन निर्माण गरी मिडिया सशक्तीकरण र पत्रकारिताको पैरवीमा योगदान पुर्याउँदै आएको छ ।
तस्बिरहरुः सुनिल श्रेष्ठ, (नेपाल पत्रकार महासंघ, नुवाकोट शाखा सचिव ।)









