नुवाकोट । महाशिवरात्री तथा २६३ औँ सेना दिवसको अवसर पारेर “बलियो एकता सुरक्षित राष्ट्र” भन्ने मुख्य सन्देशका साथ श्री नं. ६ वाहिनी अड्डा तथा अन्तरगतका श्री श्रीनाथ गण, श्री शेर गण र श्री भैरव गणको संयुक्त आयोजनामा “ब्रिगेड म्याराथन–२०८२” भव्य रूपमा सम्पन्न भएको छ ।
धादिङ र नुवाकोट जिल्लाको सीमाना भर्याङभुरुङबाट सुरु भएको म्याराथन रसुवा जिल्लाको बेत्रावती, नुवाकोटको शुभघाट, ढुङ्गे, बट्टार हुँदै विदुर नगरपालिका–२ स्थित भैरवी मन्दिरसम्म सञ्चालन गरिएको थियो ।

कार्यक्रममा श्री नं. ६ वाहिनी अड्डाका वाहिनीपति सहायक वाहिनीपति, अन्तरगत गणका गणपतिहरु, श्री मध्य पृतना तालिम शिक्षालयका शिक्षाधिकृतलगायत करिब १५० जना सकलदर्जाको सहभागिता रहेको थियो ।
यसैगरी, कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल श्री नं. १९ गुल्मका सशस्त्र प्रहरी निरीक्षक, स्थानीय प्रशासनका प्रतिनिधि तथा स्थानीय पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
🏛️ राष्ट्रिय एकताको सन्देश:
म्याराथन समापन कार्यक्रम विदुरस्थित ऐतिहासिक भैरवी मन्दिर परिसरमा सम्पन्न भएको थियो । सो अवसरमा श्री नं. ६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी सुवास जंग थापाले सम्बोधन गर्नुहुँदै वर्तमान अवस्थामा “बलियो एकता” कायम भए मात्र राष्ट्र सुरक्षित रहन सक्ने बताउनुभयो ।
उहाँले श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको “नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो” भन्ने दिव्य उपदेश आज पनि राष्ट्रिय एकताको आधारशिला भएको उल्लेख गर्नुभयो ।

साथै, आसन्न निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न परिचालित फौज, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायहरू, सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी तथा शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग पुर्याउने राजनीतिक दल र नागरिक समाज सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
निर्वाचन सुरक्षामा खटिने फौजलाई कटिबद्ध भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै नेपाली सेनाले प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो ।
२६३ औँ सेना दिवसको अवसरमा नेपाली सेनाले नागरिक समाज, स्थानीय प्रशासन र स्थानीय निकायबीचको अटुट सम्बन्धलाई समेट्दै कार्यक्रम सञ्चालन गरेको पनि उहाँले बताउनुभयो ।
🎖️ सम्मान वितरण:
सोही अवसरमा विगत एक वर्षमा देश तथा नेपाली सेनाको लागि योगदान पुर्याउने वाहिनी अड्डा तथा अन्तरगत युनिटका १० जना सकलदर्जालाई वाहिनीपतिज्यूले प्रधान सेनापति प्रशंसा निशानद्वारा सुशोभन गर्नुभएको थियो ।
तस्बिर सौजन्यः श्री शेर गण, नुवाकोट ।













