नुवाकोट । तारकेश्वर गाउँपालिकाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षा र आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, नेपाली सेनाका प्रमुख सेनानी, प्रमुख राजनीतिक दलका गाउँपालिका कार्यसमिति प्रमुख तथा प्रतिनिधि, वडाध्यक्षहरू, जनप्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका, स्थानीय बुद्धिजीवी र सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन तथा निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत–साधन तथा ऐन–कानुनको प्रयोग गरी आवश्यक निगरानी र कामकारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सभ्य, भव्य र निष्पक्ष ढंगले सम्पन्न गर्न सबै पक्षले संयमित र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गाउँपालिकाभित्रका कुनै पनि कर्मचारी आजैदेखि बिदामा नबस्न र यसअघि स्वीकृत बिदा समेत रद्द गरी आइतबारदेखि अनिवार्य रूपमा कार्यालयमा हाजिर हुन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको छ । अध्यक्ष अधिकारीले नियमित कार्यसम्पादनसँगै निर्वाचन सम्बन्धी जिम्मेवारीमा पूर्ण रूपमा दत्तचित्त भई लाग्न कर्मचारी वर्गलाई आग्रह गर्नुभएको छ ।