शनिबार, भाद्र ७ २०८२

सरकारले शिक्षकलाई फेरि वार्तामा बोलायो


  • ककनी खबर
  • शुक्रबार, बैशाख १२ २०८२

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेको हो ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाउनुभएको हो । त्यस्तै शिक्षा सचिव दीपक काफ्लेले आज निकालेको विज्ञप्तिमा शिक्षकहरूलाई वार्तामा आउन अपिल गरिएको छ । शिक्षक तथा कर्मचारीहरूले विभिन्न माग राखेर काठमाण्डौमा गर्दै आएको निरन्तरको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षकहरूले गएको चैत २० गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । विद्यालय शिक्षा विधेयकलाई निर्दिष्ट समयमा पारित गर्ने वातावरण बनाउन र शिक्षकहरूको हकहित प्रवर्द्धन गरी उपयुक्त निकास निकाल्न प्रयत्नशील रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित प्रक्रिया र कानूनी व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ । संवाद तथा छलफलबाट समस्या समाधानका उपाय खोज्न मन्त्रालयले वार्ताका लागि नेपाल शिक्षक महासङ्घलाई अनुरोध गरेको हो ।

शिक्षकहरूको आन्दोलन चलिरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको थियो । लगत्तै रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार