
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भोलिदेखि दरखास्त दिनसक्ने गरी प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको विज्ञापन खुलाएको छ । त्रिविले प्राध्यापक र सहप्राध्यापक गरी झन्डै साढे छ सय पदमा भर्ना गर्ने प्रक्रिया अघि बढाएको हो ।
त्रिविले आन्तरिक तथा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको हो । त्रिवि सेवा आयोगको कार्यालयले निकालेको सार्वजनिक सूचना अनुसार भोलि सोमवारदेखि असार २९ गतेसम्म नियमित र साउन ४ गतेसम्म दोब्बर दस्तुरमा अनलाइन मार्फत योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।
त्यस्तै त्रिविले अनुसन्धानात्मक विशिष्टताका आधारमा खुला प्रतियोगिताद्वारा प्राध्यापक नियुक्तिको सिफारिससम्बन्धी विनियमसमेत जारी गरेको छ । तर फास्ट ट्रयाकबाट नियुक्त गर्न लागिएको भन्दै विश्वविद्यालयमा क्रियाशिल प्राध्यापकहरुको सङ्घ–सङ्गठनले असन्तुष्टि जनाएका छन् । अनुसन्धान विशिष्टता भन्दै लिखित परीक्षाबिनै प्राध्यापक नियुक्ति गर्न लागिएकोमा आफूहरुको आपत्ति रहेको उनीहरुको भनाइ छ ।