
नुवाकोट । विदुर नगरपालिका वडा नं ५ मा अवस्थित लामिबगैचा युवा क्लबको नेतृत्वमा विदुर नगरपालिकाको कार्यालय, विदुर–५ को वडा कार्यालय र डिभिजन वन कार्यालय नुवाकोटको सयुक्त सहयोगमा फूल र साना प्रजातीका रुख हुने विरुवा रोपण गरिएको छ ।
विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा विदुर–५ स्थित पिपलटारचोक देखि तल्लो पिपलटारहुदैँ देवीघाट जाने मुख्य सडकको दायाँबायाँ वृक्षारोपण र रोपिएको विरुवाको सुरक्षाको लागी ट्रि गार्ड राख्ने कार्य सम्पन्न भएको छ । १२५ भन्दा बढी फलामबाट निर्माण गरिएको ट्रि गार्ड राखिएको छ ।
वृक्षारोपण कार्यमा नगर उपप्रमुख प्रभा बोगटी, डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजनल वन अधिकृत रोशना पोखरेल सहित कार्यालयका कर्मचारीहरु, वडा न. ५ का अध्यक्ष लिलानाथ न्यौपाने, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, लामिबगैचा युवा क्लबका पदाधिकारी एंव सदस्य सहित स्थानीय सरोकारवालाहरुको सहभागितामा रहेको थियो ।
सडकको दायाँबायाँ हरियाली सहित सौन्दर्यकरण गर्ने नगरपालिकाको अभियान र यसमा डिभिजन वन कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा गत वर्षदेखि सुरु भएको कार्यमा बाँकी रहेको स्थानमा यो वर्ष थप काम भएको छ ।
गत वर्ष पिपलटारचोकदेखि वडा कार्यालतर्फ विरुवा रोपण गरिएको थियो भने यो वर्ष आज पिपलटारचोकदेखि तल्लो पिपलटारहुदैँ देवी३ाटसम्म विरुवा रोपिएको लामिबगैचा युवा क्लबका अध्यक्ष सुजन गजुरेलले जानकारी दिनुभयो । उहाँको अनसार विरुवा रोपण पश्चात यसको रेखदेख सहित संरक्षणको लागी लामिबगैचा युवा क्लब सक्रिय रुपमा लाग्नेछ ।
यसैबीच, लामिबगैचा सामाजिक युवा क्लबले वातावरणीय सुधार, सरसफाइ र सामाजिक कार्यमा पुर्याउदै आएको योगदानको कदर स्वरुप प्रसंसा पत्रले सम्मान समेत गरिएको छ । क्लबका अध्यक्ष सुजन गजुरेललाई नगरप्रमुख श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपाने, डिभिजनल वन अधिकृत रोशना पोखरेलले प्रसंसा पत्र प्रदान गर्नुभएको हो ।