
काठमाडौँ । आज जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने गरिन्छ ।
मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंगलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो ।
क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।
बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व रहेको छ ।
केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाइ पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ ।
यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।