
नुवाकोट । रुडेक नेपालको आयोजनामा विदुर नगरपालिका र पञ्चकन्या गाउँपालिकाका माध्यामिक तहका शिक्षकहरूलाई लक्षित गर्दै चार दिने जीवन उपयोगी सिप शिक्षा तालिम सुरु भएको छ। तालिममा दुई पालिकाका ३१ वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ।
यसअघि लैङ्गिकता सम्बन्धी तीन दिने तालिम प्राप्त गरेका शिक्षकहरूलाई अहिले जीवन उपयोगी सिप शिक्षासम्बन्धी तालिम दिइन लागेको हो। तालिमको उद्घाटन समारोहको प्रमुख अतिथि पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष विमला केसी रहनु भएको थियो।
उद्घाटन समारोहमा उपाध्यक्ष केसीले जीवन उपयोगी सिप शिक्षा विद्यार्थीको व्यवहारिक जीवनसँग जोडिने भएकाले शिक्षकहरूले यस तालिमबाट सिकेका कुराहरू कक्षाकोठामा प्रयोग गर्नुपर्ने बताउनु भयो। उहाँले शिक्षा प्रणाली समयसापेक्ष बनाउँदै लैजान यस्ता तालिम उपयोगी हुने धारणा राख्नुभयो।
रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले शिक्षालाई व्यवहारमा उतार्न र विद्यार्थीलाई जीवनसँग मेल खाने ज्ञान दिन तालिमको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। अध्यक्ष केसीले शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको सिप विकासमा शिक्षकको भूमिका अपरिहार्य भएको बताउनुभयो।
तालिम रुम टू रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित छ भने विदुर नगरपालिका र पञ्चकन्या गाउँपालिकासँग समन्वय गरिएको छ । तालिम आगामी तीन दिनसम्म सञ्चालन हुने रुडेक नेपालको कार्यक्रम संयोजक सन्तोष खनालले जानकारी दिनुभयो ।
उहाँको अनुसार विदुर नगरपालिका र पञ्चकन्या गाउँपालिकामा माध्यामिक तहमा अध्यापन गराइरहेका शिक्षकहरूलाई लक्षित गर्दै सुरु गरिएको चार दिने जीवन उपयोगी सिप शिक्षा तालिममा १३ वटा सत्र सञ्चालन गरिने छ ।
रुडेक नेपालको आयोजना र रुम टू रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको यस तालिममा सहभागी शिक्षकहरूले किताब र पाठ्यक्रमभन्दा बाहिरको, तर दैनिक जीवनमा अत्यन्त उपयोगी ज्ञान सिक्नेछन् ।
आत्मजागरण, समालोचक सोच, असल सञ्चार, वित्तीय साक्षरता, जलवायु परिवर्तन जस्ता विषयमा केन्द्रित सत्रहरूमा प्रशिक्षित भएपछि शिक्षकहरूले यी ज्ञानहरू आफ्ना विद्यार्थीमा समेत स्थानान्तरण गर्न सक्ने अपेक्षा गरिएको छ।
तालिमको सहजीकरण प्रशिक्षक कविता थापा, विनिता बराल, जया प्रजापति लगायतले गरिरहनुभएको छ। सहभागी शिक्षकहरूलाई सक्रिय सिकाइ विधिबाट व्यवहारिक रुपमा ज्ञान प्रदान गरिँदैछ।
रुडेक नेपालले विगतमा बालिका शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो भने अहिलेको तालिम त्यसैको दोस्रो संस्करणको रुपमा ल्याइएको हो। फरक यसमा भने, छात्र–छात्रा दुबैलाई लक्षित गरी शिक्षकहरूलाई तालिम दिइँदैछ।
रुम टू रिडमार्फत नेपालभर पहिलोपटक नुवाकोटका दुई पालिकामा नमूना कार्यक्रमको रूपमा यो तालिम सञ्चालनमा ल्याइएको हो। आयोजक संस्था रुडेक नेपालले कार्यक्रमलाई दीर्घकालीन दृष्टिकोणसहित प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।