
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको प्राप्त गर्नुभएको छ ।
हिजो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । कुल ११० सदस्यीय बागमती प्रदेशसभामा हिजो ९२ जना सदस्य उपस्थित हुनुहुन्थ्यो ।
उपस्थितमध्ये मुख्यमन्त्री बानियाँको विश्वासको मतको पक्षमा ६३ जना, विपक्षमा २२ र तटस्थमा सात जनाले मतदान गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम मुख्यमन्त्री बानियाँले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको उहाँले घोषणा गर्नुभयो ।
नेपाली कांग्रेस र एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्तापछि उहाँले विश्वासको मत लिनुभएको हो । बागमती प्रदेशसभाको अर्काे बैठक आज बिहान ११ बजे बस्नेछ ।