शनिबार, भाद्र ७ २०८२

काठमाण्डौमा एक वर्षमा १ हजार १८ वटा विरोधका कार्यक्रम


  • ककनी खबर
  • बुधबार, साउन २९ २०८२

काठमाण्डौ । काठमाण्डौमा गएको आर्थिक वर्षमा १ हजार १८ वटा राजनीतिक तथा अन्य प्रकृतिका विरोधका कार्यक्रमहरू भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले आज आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्दै विरोध कार्यक्रमबारेमा जानकारी गराएको हो । ती विरोध प्रदर्शनमा सुरक्षाका लागि ३ लाख ८६ हजारभन्दा धेरै प्रहरी परिचालन गरेको काठमाण्डाै प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिनुभयो । विरोधका कार्यक्रममध्ये ४ सय ४४ वटा धर्ना र ३ सय ७२ वटा विरोध प्रदर्शन थिए ।

एसएसपी पोखरेलका अनुसार देशभर हुने कुल घटनामध्ये ४२ प्रतिशत र विरोध र्‍यालीमध्ये २१ प्रतिशत काठमाण्डाैमा हुने गरेको जानकारी गराउनुभयो । उहाँले सहकारी पीडित, शिक्षक महासङ्घ र राजनीतिक दलका ठूला प्रदर्शनहरू सफलतापूर्वक व्यवस्थापन गरेको बताउनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैमा झन्डै २० प्रतिशत जनशक्ति अभाव भए पनि विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको उहाँको भनाइ छ ।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्ष काठमाण्डाैमा २ हजार ७ सय २२ वटा आगलागीका घटना भएका छन् । तीमध्ये १ हजार ८ सय ७६ वटा घटना बिजुलीको पोलमा तार शर्ट भएर भएको थियो । यस्तै प्रहरीको हटलाइन ‘१००’ नम्बरमा गएकाे वर्ष ४ लाख २८ हजारभन्दा धेरै फाेन आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार