
नुवाकोट । नुवाकोटको प्रमुख धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको बढ्दो आवागमनसँगै मन्दिरमा संकलित भेटीको आम्दानी उल्लेख्य बृद्धि भएको छ ।
दुप्चेश्वर महादेवको दर्शन गर्न आउने भक्तजनबाट हालै सम्पन्न आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड ४४ लाख ८० हजार भेटी संकलन भएको दुप्चेस्वर क्षेत्र बिकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार मन्दिरको भेटी आम्दानीबाट रु.३२ लाख २१ हजार खर्च भएको छ ।
“आम्दानीतर्फ मन्दिरमा दर्शनार्थीले चढाएको स्वदेसी र विदेसी मुद्राको सटहीबाट प्राप्त नगदलाई एकमुष्ट जोडिएको छ ।” कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो “खर्चतर्फ कर्मचारी तलब, आरती, स्वयंसेवक र रासन खरिद गरिएको छ ।”
दुप्चेस्वर क्षेत्र बिकास कोषले आम्दानी तथा खर्च विवरण सार्वजनिक रुपमा पारदर्शी ढंगले प्रस्तुत गर्दै आएको जनाएको छ । त्यसका लागी मुख्य मन्दिरमा संकलन भएको भेटी हरेक दिन साँझ मन्दिर परिसरमा सिसिटिभीको निगरानीमा सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण सहित गणना हुने प्रबन्ध गाँउपालिकाले मिलाएको छ ।
हालै सम्पन्न साउन महिनामात्रै करिब ५० हजार भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान गरिएको छ । सोही अवधिमा रु. ३१ लाख ८३ हजार बराबरको भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
दुप्चेस्वर क्षेत्र बिकास कोषको अध्यक्ष र उपाध्यक्ष बिधनतः गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष हुने प्रावधान छ । सोही कारण मन्दिरमा हुने गतिविधिलाई गाँउपालिकाको कार्यसम्पादन, सेवा प्रवाह र सुशासनसंग जोडिएकाले आय–व्याय सहितको क्रियाकलापलाई पारदर्शी बनाउदैँ आएको गाँउपालिका अध्यक्ष शंकरबहादुर थापाको भनाई छ ।
दुप्चेश्वर महादेव मन्दिरमा भक्तजन तथा तिर्थयात्रीको आवागमन पछिल्ला वर्षहरूमा उल्लेख्य बढ्दै गएको मन्दिरका पुजारी भगवानहरी धितालले जानकारी दिनुभयो । उहाँको अनुसार मन्दिरप्रति भक्तजनको बढ्दो आकर्षणमा आस्था, धार्मिक विश्वास र मनोकामना पूरा भएको जनविश्वास जोडिएको छ ।
पौराणिक कथन अनुसार चारसय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा रहेको शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पुज्ने गरिएको छ । मन्दिरको भौतिक संरचनामा भइरहेको सुधार, मन्दिरसम्म पुग्न सहज सडक मार्गको कारण पछिल्ला दिनहरुमा शनिबार र सोमबारको दिन हजारौँ तिर्थयात्री दर्शनको लागी मन्दिर पुग्ने गरेका छन् ।
‘भक्तजनले जे मागे पनि सिद्ध गराउने भगवान’ को रूपमा पुजिने दुप्चेश्वर महादेव प्रति श्रद्धा र जनविश्वास बढ्दै गएको छ । मन्दिर देशका विभिन्न स्थानबाट दैनिक हजारौँको सङ्ख्यामा दर्शनार्थीहरू आउने क्रम बढिरहेको छ । पुजारी धितालका अनुसार दुप्चेश्वर मन्दिरमा पूजा गरेपछि सन्तानको मनोकामना पूरा हुने, विशेषगरी पुत्रलाभ हुने जनविश्वास रहेको छ । बोली नफुटेका बालबालिका मन्दिरमा दर्शन गराएपछि बोल्न थाल्ने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउने विश्वासमा पनि मन्दिरमा भक्तजनको आवामगन बृद्धि हुदैँ गएको उहाँले जानकारी दिनुभयो ।
“धेरै भक्तजनहरू मनोकामना पूरा भएपछि दोहोर्याएर दर्शन गर्न आउने गरेका छन् । पुजारी धितालले भन्नुभयो “धार्मिक, आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरले नुवाकोटको धार्मिक पर्यटन र शिवमहादेव प्रतिको आस्था बढाउन सहयोग पुगेको छ ।”
समुन्द्रमन्थन गर्दा निक्लिएको कालकुट विष सेवन पछि छट्पटिएका महादेव शिव काठमाडौको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्तीका कारण दोश्रो पशुपतिनाथको रुपमा दुप्चेश्वरलाई पुज्ने गरिएको छ ।