बुधबार, असोज २२ २०८२

युवाहरुको छुट्टाछुट्टै समूहद्वारा सुशीला कार्की, हर्क साम्पाङ र बालेनको नाम प्रस्ताव


  • ककनी खबर
  • बिहिबार, भाद्र २६ २०८२

काठमाडौँ । जेन–जी युवाहरूको छुट्टाछुट्टै समूहले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाम प्रस्ताव गरेका छन् ।

धेरै युवाहरुले कार्कीको नाममा सहमति जनाए पनि यसमा सबै युवा समूह एकमत हुन सकेका छन् । जेन–जीको एउटा समूहले सामाजिक सञ्जालमा छलफल गरेर कार्कीको नाममा सहमति जुटाएका थिए । त्यही सहमतिका आधारमा कार्कीको नाम लिएर जेन–जी युवाहरूको एक टोलीले हिजो प्रधान सेनापतिसँग वार्ता पनि गरेको थियो । तर सैनिक मुख्यालय बाहिर जेन–जीकै प्रतिनिधि भन्दै विभिन्न समूहले छुट्टाछुट्टै नाम लिएका थिए ।

कतिपयले बालेन शाहको नाम लिएका थिए भने कतिपयले हर्क साम्पाङको नाम प्रस्ताव गरेका थिए । उनीहरुले सुशीला कार्कीको नाम आफूहरूलाई मान्य नहुने पनि बताए । बेलुकी अबेरसम्म पनि युवाहरुको होहल्ला भएपछि सैनिकले माइकिङ गरेर आपसमा छलफल गरी आज आउनको लागि भनेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले अस्ति मङ्लवार बेलुका नै वार्ताका लागि आह्वान गरेका थिए । वार्ता आह्वानपछि जेन–जीहरूको छुट्टाछुट्टै समूह छलफलका लागि सैनिक मुख्यालय पुगेको थियो ।

सैनिक मुख्यालयमा छलफल गर्न पुगेको समूहका प्रतिनिधि रक्षा बमले प्रधानसेनापतिले दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसँग छलफल गरेर आउनू भनेपछि आफूहरू बाहिरिएको प्रतिक्रिया दिनुभएको छ । उनीहरूले दुर्गा प्रसाईं र रास्वपासँग वार्ताको प्रस्ताव अस्वीकार गरेका छन् । छलफलमा सहभागी जेन–जी युवाहरूले लोकतन्त्र रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार