
काठमाडौँ । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बिहान ७ बजेसम्मको अवस्थाबारे दिएको जानकारी अनुसार संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४, बरुणमा कोशी राजमार्ग अझै अवरुद्ध छ ।
यस्तै संखुवासभाकै मकालु गाउँपालिका–३, एकुवामा पनि लामो समयदेखि अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा आउन सकेको छैन। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रुपमा अवरुद्ध छ । गोसाइकुण्ड गाउँपालिकामै आज बिहानदेखि पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड बन्द भएको हो ।
सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका–४, चारकिलो नजिकै बिहान गएको पहिरोले अरनिको राजमार्ग पनि पूर्णरुपमा अवरोध भएको छ । प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।