
नुवाकोट । तारकेश्वर गाउँपालिकाभित्रका तथा राजमार्गसँग जोडिने सबै मुख्य सडकमा रहेका अवरोध हटाइएका छन् । लगातारको वर्षाका कारण सडक अबरुद्ध भएलगत्तै तत्कालै हटाउन गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले दिएको निर्देशनअनुसार विदुर नगरपालिकाभित्र पर्ने दुई स्थानसहित सबै मुख्य सडक पुनः सञ्चालनमा आएका छन् ।
दशैं अवधिमा यात्रु तथा सवारीसाधनको चाप बढ्ने र यस पटक भारी वर्षा हुने मौसम विभागको पूर्वानुमानलाई ध्यानमा राखी अध्यक्ष अधिकारीले दसैंअघि नै विभिन्न डोजर कम्पनीहरूसँग सम्झौता गरेका थिए । सम्झौताअनुसार हरेक क्षण सतर्क रहँदै सडकमा अवरोध उत्पन्न भए तत्कालै हटाउने व्यवस्था गरिएको थियो ।
सोही तयारीका कारण नवमीको राति परेको अवरोध टीकाको दिन बिहानै हटाइएको थियो । कुनै पनि समय सडक अबरुद्ध हुन नदिने गरी उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिँदै अध्यक्ष अधिकारीले सम्झौताअनुरूप काम नगर्ने वा जनस्तरबाट गुनासो आउने अवस्थामा सम्झौता रद्द गरी भुक्तानी रोक्का गर्ने चेतावनीसमेत दिएका छन् ।