असोज १,बिदुर।
नुवाकोट क्रिकेट संघ र रोयल क्रिकेट ईन्डोर बिचको ३ खेलको मैत्रीपुर्ण प्रतियोगिताको उपाधी नुवाकोट क्रिकेट संघले जितेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा रोयल क्रिकेट ईन्डोर काठमाडौंलाई ३८ रनले हराउदै नुवाकोटले २-१ ले उपाधी जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नुवाकोटले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनायो। नुवाकोटको तर्फबाट अमिक कुमालले २३ रन, कुशल नेपालीले १७ रन र राजन जैसवालले १५ रन बनाएका थिए । बलिङतर्फ रोयल क्रिकेट ईन्डोरका अभियान बस्नेत, राम मन्डल,सागर श्रेष्ठ र आश्रय अधिकारीले समान २/२ विकेट लिए । ११२ रनको बिजयी लक्ष्य सहित उत्रिएको रोयल क्रिकेट ईन्डोर १८.२ ओभरमा सबै विकेट गुमाउँदै ७३ रनमा समेटियो । रोयलका तर्फबाट शुभ ज.ब.राणाले र लाभ ज.ब.राणाले १०/१० रन र अभियान बस्नेतले ७ रन बनाए । बलिङतर्फ नुवाकोटका अमिक कुमाल र पवन राईले समान ३/३ विकेट र कुशल नेपालीले २ विकेट लिए ।
खेलमा ३ विकेट र २३ रन बनाएका नुवाकोट क्रिकेट संघका अमिक कुमाल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको म्यान अफ दि सिरिज नुवाकोटका कुशल नेपाली र ईमर्जिङ प्लेयर रोयल क्रिकेट ईन्डोरका शुभ ज.ब.राणा घोषित भए ।
खेल पश्चात् सम्पन्न समापन कार्यक्रममा श्रीनाथ गणका गणपती अज्जान कुमार रुपाखेतीको प्रमुख आतिथ्यता र श्रीनाथ गणका सह-सेनानी बिद्युत बस्नेत र संघका पदाधिकारी आदिको उपस्तिथिमा बिजयी टिम तथा खेलाडीलाई ट्रफी तथा मायाको चिनो प्रदान गरिएको थियो ।