आइतबार, जेष्ठ ६ २०८१

अध्यक्षले छक्याउनुभो, गुटबन्दीको शिकार भएँ


  • ककनी खबर
  • सोमबार, माघ २९ २०७४

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलार्इ चुनाव अघिदेखि नै प्रदेश ३ को मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । तर, शाक्यलाई पराजित गर्दै डोरमणि पौडेल दलको नेता बनेका छन् र उनै मुख्यमन्त्री बन्नेछन् ।

अनपेक्षित चुनावी हारबारे शाक्यसँग गरिएको संक्षिप्त कुराकानी :

तपाईंको राजनीतिक इतिहास र योगदानको कुनै अर्थ रहेेन होइन त ? गुटको उम्मेदवार बनेपछि तपाईंले यो महशुस गर्नुभयो ?

मेरो इतिहास दुनियाँका सामुन्ने छ । मैले गुटबन्दी गरिनँ । म २०२८ सादेखि हो यो पार्टीमा लागेको । २०३६ देखि त भूमिगत नै भएर काम गरेँ । पार्टीमा काम गर्दा बालबच्चा जन्मेका बेलासमेत मैले बिदा लिइन ।

पाँचौ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा छु । प्रदेश संयोजकको हैसियतले मलाई नै मुख्यमन्त्री बन्ने भनेर पार्टीको सचिवालयले प्रदेशमा पठाएको हो तर, आज चरम गुटबन्दीको शिकार भएँ ।

मलाई जीवनमा सबैभन्दा दुःख लागेको छ ।

एउटा महिला मुख्यमन्त्री बन्ने अवसर जोगाउन शीर्ष नेताहरुबाटै गम्भीर पहल नभएको हो ?

शीर्ष नेताहरुले पहल नगरेको भन्दा पनि पहल पुगेन भन्छु । हाम्रो पार्टीले एउटा इतिहास कायम गर्ने अवसर थियो ।

तर, सबैभन्दा दुःख लाग्दो कुरा के भने, हिजो अध्यक्षलाई भेट्न जाँदा के छ स्थिति भन्नुभयो । मैले जित्छु, तपाईंले सहयोग गर्नुस् भनेँ । उहाँले हार्ने गरी नउठ्नुस् भन्नुभयो । मैले जित्छु र सघाउनुस् भन्दा त्यसो भए उठ्नुस् भन्नुभयो ।

तर, उहाँले यस्तो गरेर छक्याउनु हुन्छ ? अहिले आएर सभामुख लिनुस् भन्दा मान्नुभएन भनेर प्रचार गरिएको छ । उहाँले त्यसो भनेको होइन र सभामुख लिनुस् भन्दा मान्नेवाला पनि थिइनँ । तर, अध्यक्षको तहबाट मविरुद्ध चरम गुटबन्दी भएकोमा स्तब्ध छु ।

मैले सुनिरहेकी छु, प्रदेशका सांसदहरुलाई भेडाबाख्रा जस्तो थुन्ने काम गरियो । विहान सिधै भोट हाल्ने ठाउँमा लिएर आइयो । मलाई मुख्यमन्त्री बन्न नदिन गुटको चरम प्रयोग भयो । म गुटबन्दीको शिकार भएँ ।

भनेको तपाईंलाई हराउन अध्यक्ष केपी शर्मा ओली नै लाग्नुभयो ?

उहाँ कति लाग्नुभयो भएन अहिले नै भन्दिन तर, उहाँबाट मलाई छक्याउने काम भयो । मैले सुनिरहेकी छु, प्रदेशका सांसदहरुलाई भेडाबाख्रा जस्तो थुन्ने काम गरियो । विहान सिधै भोट हाल्ने ठाउँमा लिएर आइयो । मलाई मुख्यमन्त्री बन्न नदिन गुटको चरम प्रयोग भयो । म गुटबन्दीको शिकार भएँ । मेरो राजनीतिक इतिहासको धज्जी उडाइयो ।

पार्टीको कमिटीमा आफूभन्दा धेरै जुनियर मान्छेसँग हार्नुभयो । प्रदेशको पार्टी प्रमुख हुनुहुन्छ, तपाईको भूमिका के हुन्छ ?

पहिलो कुरा त प्रदेशसभामा धेरै पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरु आउनुभएको छ, जसलाई मेरो अण्डरमा मन्त्री भएर काम गर्न सजिलो हुने थियो । अब त्यो कुरा त रहेन ।

उहाँले कसरी चलाउनुहुन्छ म पनि हेर्छु । म पार्टीको प्रदेश संयोजक हुँ, प्रदेश सरकार चलाउन, मन्त्री बनाउन वा अन्य काम गर्न पार्टीको निर्देशन र समन्वय चाहिएला । कसरी काम गर्नु हुँदोरहेछ हेरौंला ।

तपाईको कुराले त पराजयको पीडा निकै देखियो नि ?

वास्तवमा मैले यस्तो होला भनेर सोचेकी थिइन । गुटबन्दीको यतिसारो शिकार हुँला भनेर सोचेकै थिएन । त्यसैले मलाई धेरै पीडाबोध भएको छ । मलाई मेरो पार्टीको अध्यक्षले यति साह्रो अपमान गर्नुभयो, सहन गाह्रो भएको छ । यसबाट उहाँको हाइट घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार