आइतबार, जेष्ठ ६ २०८१

ककनीमा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’


  • ककनी खबर
  • आइतबार, जेष्ठ ५ २०७६

रानीपौवा । नुवाकोटको ककनी गाँउपालिकाको रानीपौवा बजारमा शनिबारदेखि ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ सुरु भएको छ ।

पाँच दिनसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको हो । विद्युतीय उपकरण मार्फत मकै छोडाएर मेलाको उद्घाटन गर्दै दाहालले मुलुकलाई समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
“कृषिलाई राजनीतिमा जोडेर समाज रुपान्तरणको लागी किसानको नेता बोगटीको सपना पूरा गर्नको लागी मेला सान्दर्भिक बनेको छ ।” उहाँले भन्नुभयो “विकास, समृद्धि र रोजगारको लागी कृषि मुख्य आधार भएकाले यसको व्यवसायिकरण र आधुनिकरणमा सरकारले प्रमुख प्रथामिकता दिनुपर्दछ ।”

अहिले पनि बहुसङ्ख्यक नागरिक कृषि पेशामा आबद्ध भएका छन् तर बार्षिक अरबौ रुपैयाँ खर्चिएर विदेसबाट आयात भइरहेको कृषि सामाग्रि र उपकरण हटाउन सरकारले अनुदान, बजारीकरण र कृषि पेशालाई सम्मानित बनाउनुपर्ने उहाँको भनाई छ ।
मेलामा नेकपाको नेता पम्फा भूषाल, प्रतिनिधिसभा सदस्यहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेससभा सदस्यहरु केशवराज पाण्डे, बद्रीप्रसाद मैनाली, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महत लगायतका वक्ताहरुले दिवंगत नेता बोगटीले कृषकको अधिकार स्थापना र रानीतिमा किसानको सहभागिता मार्फत पु-याएको योगदानको स्मरण गरे ।
मेलाको अवलोकन गर्न पहिलो दिन शनिबार पूर्वमन्त्रीहरु जनार्दन शर्मा, अग्नीप्रसाद सापकोटा, प्रदेस नं. ३ का उपसभामुख राधिका तामाङ लगायतका जनप्रतिनिधिहरु ककनीको रानीपौवा आउनुभयो ।

शनिबारदेखि सुरु भएर पाँच दिनसम्म चल्ने मेलामा ९० वटा स्टल राखिएका छन् । स्थानीय कृषि उत्पादन, कृषि सामाग्री र कृषि परामर्श केन्द्रका लागी निःशुल्क स्टल उपलब्ध गराइएको छ भने बाँकीलाई व्यवसायिक प्रयोजनको लागी उपलब्ध गराइएको छ ।
मेलामा नुवाकोटका बाह्रवटै स्थानीयतहको पहिचान झल्कने कृषि तथा वन पैदावरका उत्पादन बिक्रि तथा प्रदर्शनीमा राखिएका छन् ।
मेलामा आकर्षकको रुपमा ट्राउट माछा, स्ट्रबेरी, काफल, शिखरवेशीको चामल, पिडालु, आलु, किम्ताङको अर्गानिक चिया, कफी, विभिन्न जातका तरकारी र अन्नबाली रहेका छन् । यसैगरी, पशुचौपाय अन्तरगत बाख्रा, बोयर र जमुनापारी जातका बोका–खसी बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।
मेलामा कृषि औजार, यान्त्रिकरण, तरकारी एवम् फलपूmलको बीउ, बिरुवा समेत उपलब्ध छन् ।

पूर्वमन्त्री समेत रहनुभएका तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघको केन्द्रीय अध्यक्ष समेत भएर कृषि क्षेत्रमा योगदान पु-याउनुभएका पोष्टबहादुर बोगटीको विसं. २०७१ भदौ ३० गते मस्तिष्कघात र हृदयघातको कारण निधनको भएको थियो । पार्टीमा निष्ठावान तथा इमान्दार नेताको रुपमा छवी बनाउनुभएका उहाँले पु-याएको योगदानको जनस्तरसम्म स्थापित गराउन पार्टीले विसं २०७२ असोज २८ गते ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ गठन गरेको थियो ।
उक्त प्रतिष्ठानको आयोजनामा दिवंगत नेता बोगटीको निष्ठा र आदर्शलाई जनस्तरमा पु¥याउन र कृषि मार्फत आर्थिक रुपमा मुलुकलाई समृद्धितर्फ लैजानको लागी शनिबारदेखि पाँचदिने कृषि मेला आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले जानकारी दिनुभयो ।

करीब पचास हजार अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको मेलाको सह–आयोजक रहेको ककनी गाँउपालिका अध्यक्ष मानबहादुर लामाले बताउनुभयो ।
उहाँको अनुसार प्रदर्शनी स्थल नुवाकोटको लागी मात्र नभई रसुवा र धादिङको लागी मध्येबिन्दु र काठमाडौबाट २७ किमि दुरीमा रहेकाले अवलोकनकर्तालाई सहज हुने विश्वास लिइएको छ । मेलामा रु दुई करोड कारोबार हुने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार