आइतबार, जेष्ठ ६ २०८१

पहिलो खेलमै कतारसंग नेपाल पराजित


  • ककनी खबर
  • मंगलबार, साउन ७ २०७६

श्रावण ७, एजेन्सी

सिंगापुरमा जारी आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको आफ्नो पहिलो खेलमा नेपाल कतारसंग पराजित भएको छ । विश्व वरियतामा आफुभन्दा १० स्थान तल रहेको कतारसंग नेपाल ४ विकेटले पराजित भएको हो । उद्घाटन खेलमा सिंगापुरसंग पराजित भएको कतारको यो प्रतियोगितामा पहिलो जित हो ।

ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय २२ रनको सामान्य योगफल तयार पारेको थियो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको किर्तिमानी साझेदारी गरेपनि अन्य ब्याट्सम्यानले ठुलो ईनिङस खेल्न नसक्दा नेपाल सामान्य स्कोरमा समेटिएको हो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्बाधिक ३४ रन बनाए । कप्तान खड्काले २८, मल्लले २३ र सोमपाल कामीले ११ रन, सन्दिप लामिछानेले ९ रन जोडे भने शरद भेषावकर ७ र बिनोद भण्डारी ३ रन बनाएर पभेलियन फर्किए । कतारका ईक्वाल हुसेनले ३ विकेट, तामोर साजदाद र नौमान सरवारले समान २ तथा ईनाम उल हकले एक विकेट लिए ।

नेपालले दिएको १ सय २३ रनको सामान्य चुनौतीलाई कतारले ४ बल अघिनै ६ विकेटको क्षतिमा पार गर्यो । सिंगापुरको तर्फबाट ईनाम उल हकले ४१ र कमरान खानले २२ रन बनाउदै टोलीलाई पहिलो जित दिलाए । नोमन सरवारले अबिजित १५ र जाहिर ईब्राहिमले १२ रन जोडे । नेपालका सन्दिप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए ।

नेपालले आफ्नो दोस्रो खेलमा भोली मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार