लिखु गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई सम्पन्न
-
ककनी खबर
- सोम, ०१ असार २०८३
नुवाकोट । लिखु गाँउपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पादित क्रियाकलाप, नागरिकहरुलाई प्रदान गरिएको सेवा, सुविधा लगायत लिखु गाँउपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा जानकारी दिने र नागरिकहरुको प्रतिक्रिया संकलन गर्ने उद्देष्यले आयोजना गरिएको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
लिखु गाँउपालिका–४ चौघडा स्थित प्रशासन भवन निर्माण स्थलको चउरमा आयोजित ‘सार्वजनिक सुनुवाई’मा पालिकाबासी नागरिकहरुले राखेको जिज्ञासा, दिएको राय–सुझाब एंव गुनासोको गाँउपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट सहित विषयगत शाखा, वडाअध्यक्ष एंव वडासचिवहरुबाट सम्बोधन भएको थियो ।
गाँउपालिका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यता र वडा नं ४ का अध्यक्ष प्रकाश राईको सभापतित्वमा भएको कार्यक्रममा ६ वटै वडा कार्यालय र गाँउपालिकको कार्यालयको हालसम्मको प्रगति विवरण, बिनियोजित योजना तथा कार्यक्रमको कार्यान्वयन, राजश्व संकलन, सेवा प्रवाहका सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो ।

त्यस पश्चातको खुला सत्रमा सेवाग्राहीले राखेको जिज्ञासामा कृषि, शिक्षा, स्वास्थ्य, सडक बाटो, पूर्वाधार निर्माण, तादी र लिखु खोलामा करिडोर निर्माण, मठमन्दिरको संरक्षण एंव पुर्ननिर्माण, पालिका भवन निर्माणको कार्य जतिसक्दो चाडो अघि बढाउन लगायतका सुझाब तथा राय पेश गरेका थिए । नागरिकहरुबाट आएको सुझाब तथा राखेको जिज्ञासालाई अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले स्पष्ट पार्नुभयो ।
गाँउपालिका अध्यक्ष श्रेष्ठले पालिकामा आफ्नो दोश्रो कार्यकालसम्मको अवधिमा गरेका कार्य, निर्माण गरेका संरचना तथा पुराएको योगदान अतुलनीय रहेकाले बाँकी रहेका र अति आवश्यक योजना तथा कार्यक्रमहरु आगामी वर्षको लागी कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले आफ्नो पहलमा केन्द्रीय सरकारबाट लिखु गाउँपालिकामा केही ठूला बजेटका योजनाहरु सुनिश्चित गर्न सफल भएको र अझै थप बाकी योजनाहरु पनि प्राप्तीको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
ती योजना लिखु गाउँपालिकाको कार्यसम्पादन मुल्याङ्कनको आधारमा प्राप्त भएको भन्दै लिखु गाउँपालिका सेवा प्रवाहमा उत्कृष्ट रहदै आएको प्रष्ट पार्नुभयो । ठूलो बजेट आवश्यक पर्ने योजना संघबाट सम्बोधन हुनुपर्नेमा त्यो नभएको भन्दै उहाँले प्रदेशबाट बिनियोजनको लागी पहल गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
संघ र प्रदेसले प्राथमिकतामा नदिएपनि पालिकाबासीको माग, चाहना र अति आवश्यक रहेका योजना पूरा गर्न लिखु गाउँपालिका आफै सक्षम रहेको पनि जानकारी दिनुभयो । लिखु गाँउपालिका विभिन्न मापनमा पनि उत्कृष्ट हुदै बजेटको आकार समेत धेरै प्राप्त गर्न सकेको, सुशासन, बित्तीय जोखिम न्यूनिकरण, बेरुजु लगायतमा गाउँपालिकाको अबस्था निकै उत्कृष्ट हुनु पालिकाको जनप्रतिनिधि र कर्मचारीको ठूलो मिहेनतको उपलब्धी भएकाले यसलाई पालिकाबासीले गर्वको रुपमा लिन सक्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उपाध्यक्ष सुभद्रा अधिकारी (उप्रेती)ले योजना सञ्चालनलाई गुणस्तर, पारदर्शी र दिगो हुने गरेर आफ्नो जिम्मेवारीमा रहेको योजनाहरुको अनुगमनको काम भइरहेको जानकारी दिनुभयो । लक्ष्य अनुसार राजश्व संकलन भइरहेको जानकारी दिदै सोही रकमबाट पालिकाबासीको माग अनुसार बजेट उपलब्ध गराउदै लिखु गाँउपालिकालाई नमूना पालिकाको रुपमा स्थापित गरिएको जानकारी दिनुभयो ।
न्यायिक समितिको कामकारबाही, जनताको गुनासो संकलन एंव राय सुझाब सुन्ने, महिला ज्येष्ठ नागरिक, अपाङ्कता भएका व्यक्ति, लक्षित वर्ग, विपन्न तथा आर्थिक रुपम कमजोर भएका समुदायसंग प्रत्यक्ष रुपमा जोडिएका कार्यक्रम सञ्चालन गरेरउनीहरुलाई लाभ पुग्ने र आर्थिक उपार्जनमा जोड्दै आएको, युवालाई सिप र रोज गारको सिर्जना गरेर विदेश जानुपर्ने बाध्यतालाई घटाउने र विदेशबाट फर्किएकालाई यही रोजगारमा संलग्न गराई घरघरमा खुसी भित्र्याउन पालिकाको तर्फबाट गर्नुपर्ने कार्यमा कुनै कमी नराखेको उपाध्यक्ष अधिकारीको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले गाँउपालिकाको सिमित श्रोत र साधनबाट लिखुबासीको जायज र आवश्यक मागहरु सम्बोधन गर्दै आइरहेको जानकारी दिनुभयो ।

योजना तर्जुमा तथा बजेट बिनियोजनको क्रममा जनताको न्यूनतम आवश्यकता पूरा गर्न गाउँपालिका प्रतिबद्धता रहेकाले जनताबाट पनि साथ र सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
पालिकाले गरेका राम्रो कामको प्रशंसा गर्दै कहीँकतै हुन गएका त्रुटीलाई औल्याएर सुधार्न जनताले सुझाब दिनुपर्ने, तिर्नुपर्ने राजश्व समयमा नै बुझाउनुपर्ने, आफ्नो गाँउघर तथा समाजको विकास निर्माणको काममा श्रमदान गर्ने, कामको गुणस्तर कायम गराउन सजग हुनुपर्ने, सरकारी सम्पत्तिलाई पनि आफ्नै व्यक्तिगत सरहको रुपमा सदुपयोग गर्नुपर्ने लगायतमा पालिकाबासीको योगदान र सहयोगको अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टको भनाई छ ।
कार्यक्रमका सुरुवातमा नै सहभागीहरुलाई जानकारी गराउने उद्देष्यले प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख रामचन्द्र लामिछानेले सार्वजनिक सुनुवाइ कार्यक्रमको औचित्य तथा उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। उहाँले स्थानीय तहबाट आर्थिक वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, सेवा प्रवाह, विकास निर्माण तथा समग्र गतिविधिबारे नागरिकलाई जानकारी गराउनुका साथै सेवाग्राहीहरूको राय, सुझाव, जिज्ञासा तथा गुनासो प्रत्यक्ष रूपमा संकलन गरी सम्बोधन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले सार्वजनिक सुनुवाइले स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै नागरिक र स्थानीय सरकारबीचको सम्बन्धलाई थप सुदृढ तथा विश्वासिलो बनाउन यस्ता कार्यक्रम प्रभावकारी माध्यमका रूपमा स्थापित भएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा लिखु गाउँपालिकाको प्रवक्ता नरहरी पाण्डे, वडा नं. २ प्रेमबहादुर थापा मगर, वडा नं. ३ सिताराम पुलामी मगर, वडा न. ४ का अध्यक्ष प्रकाश राई, वडा नं. ५ विश्व प्रकाश खतिवडा, वडा नं. ६ सुमन भण्डारी सहित कार्यपालिका सदस्यहरु, विषयगत शाखाको प्रमुखहरु, वडासदस्यहरु, गाँउपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सहकारीकर्मी, व्यावसायी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारी, प्रधानध्यापक सहित शिक्षकहरु विभिन्न संघ, समूह तथा सामाजिक क्षेत्रमा प्रतिनिधि गर्नेहरु सहित दुईसय भन्दाबढी लिखुबासी एंव सेवाग्राहीको सहभागिता रहेको थियो ।

















सम्बन्धित खबर
‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न, विद्यार्थीका समस्या र सुझाव संकलन
नुवाकोट । विदुर नगरपालिका वडा नं ५, देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
विदुर नगरपालिका वडा नं ३, ५ तथा वडा नं १२ को बिरेन्द्र माध्यमिक विद्यालयका प्रतिनिधि विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रम...
© Copyright 2026 kakanikhabar. All rights reserved.
Developed By : Dkedartech-7


