Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन

Main News Image
Kakani Khabar add

काठमाडौँ । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभयो ।


त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो । उहाँले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गर्नुभयो ।


उहाँले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी दिनुभयो । हालै स्वीकृत उक्त परियोजनाले सुरुङ पूर्वाधार विकासमा दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।


यसै वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गर्दै अध्यक्ष तानाकाले विगत सात दशकदेखि पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको बताउनुभयो । नागढुङ्गा सुरुङ दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यको जीवन्त प्रतीक भएको उहाँको भनाइ थियो ।


नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडिए) तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले यस परियोजनाले नेपाल र जापान सरकारबीचको विश्वासपूर्ण तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो ।


राजदूत माएदाले परियोजनामा योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यसबाट हस्तान्तरण भएको प्राविधिक ज्ञान, सीप तथा उच्च सुरक्षा मापदण्डले नेपालको भावी सुरुङ तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । आगामी वर्षौंसम्म नेपालले आफ्नै दक्षतामा सुरुङ सञ्चालन तथा मर्मतसम्भार गर्न सक्ने क्षमता विकास गर्नु नै सहकार्यको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।


त्यस अवसरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका दशकौँदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको उल्लेख गर्नुभयो । सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने उहाँको भनाइ थियो ।


उहाँले जापानी र नेपाली इन्जिनियरहरूले भौगोलिक जटिलता तथा प्राविधिक चुनौतीबीच काँधमा काँध मिलाएर काम गरेकाले यो ऐतिहासिक परियोजना सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।


नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । सुरुआती सम्झौताअनुसार आयोजना विसं २०८० वैशाख १३ गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलाइ, कोभिड–१९ महामारी तथा स्थानीयको अवरोधका कारण निर्माण प्रभावित भएको थियो । विसं २०७६ कात्तिक २८ गते ठेक्का सम्झौता भएको उक्त आयोजनाको निर्माण अवधि पछिल्लोपटक २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको थियो ।


यसअघि सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । राजपत्रअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र काठमाडौँबाट बाहिरिँदा रु ६० दस्तुर तोकिएको छ । मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः रु १२५ र रु ८०, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि रु २६० र रु २०० तथा मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० दस्तुर निर्धारण गरिएको छ ।


नेपालको पहिलो सडक सुरुङका रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले काठमाडौँ–नौबिसे सडकखण्डमा यात्रा समय घटाउनुका साथै सुरक्षित, सहज र दिगो सडक यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...

अध्यक्ष अधिकारीको निर्देशनपछि दाङसिङ–ढाँडाखर्क सडक मर्मत कार्य सुरु

नुवाकोट । केही दिनअघि परेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको दाङसिङ रयलछापस्थित प्रशासकीय भवनदेखि ढाँडाखर्कसम्मको सडकखण्डको मर्मत कार्य सुरु गरिएको छ ।


तारकेश्वर गाउँपालिकाको तल्लो भेगका तीन वडा र माथिल्लो भेगका तीन वडालाई जोड...

त्रिविको प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएकाे केही मिनेटमा आउट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


गएको शुक्रवार अर्थात् साउन ८ गते भएको ‘अर्गनाइजेशनल...

भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव भेटियो, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३४१ जनाको शव भेटिएको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्ममा १ हजार ३४१ जनाको शव भेटिएको हो...

बेलकोटगढीमा युवा लक्षित कार्यक्रम प्राथमिकतामा, २५ जना युवालाई बारिष्ता तालिम

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘युवा लक्षित कार्यक्रम’लाई प्राथमिकता दिँदै सिपमूलक तालिम सञ्चालनमा ल्याएको छ । युवालाई शिक्षासँगै व्यवहारिक सिप प्रदान गरी उद्यमशीलतामा जोड दिने उद्देश्यले नगरपालिकाले पहिलो चरणमा २५ जना युवालाई सहभागी गरा...

साउनमा ७० हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गए

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा धेरै रहेको छ ।


वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७०...